सिन्धुली कांग्रेसमा क्षेत्रीय अधिवेशन सम्पन्न, दुई क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन

सिन्धुली/नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुलीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट क्षेत्रीय कार्यसमितिसँगै प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

दुवै निर्वाचन क्षेत्रको परिणामले कांग्रेसको आगामी महाधिवेशनका लागि सिन्धुलीबाट विभिन्न तह र समुदायको प्रतिनिधित्व हुने गरी प्रतिनिधिहरू छनोट भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फका १० महाधिवेशन प्रतिनिधिका लागि २३ जना प्रतिस्पर्धामा थिए । सार्वजनिक मत परिणाम अनुसार उज्ज्वल प्रसाद बरालले ७८१ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । बराल कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित हुनुभएको थियो ।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले ७१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रेमचन्द्र दाहाल, मुकेश घिमिरे, अनन्त कार्की, गोविन्द प्रसाद पहाडी, मोहन प्रसाद बराल, युवराज पहाडी, श्यामकुमार घिमिरे र विष्णुबहादुर कार्की (विग्रह) पनि खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

यसैबीच क्षेत्र नं. १ बाटै युवा तथा दलितबाट भरत बिक नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँविरुद्ध अन्य उम्मेदवारी नपरेपछि बिक निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यसैगरी क्षेत्र नं. २ मा भने खुलातर्फ पुर्व बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जन सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । उहाँले ७०५ मत प्राप्त गर्नुभएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल पनि ४५६ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं. २ को खुलातर्फ दीपककुमार घिमिरे, कुमार ढकाल, डम्बरबहादुर कार्की, नवराज श्रेष्ठ (आकास), ईश्वरकुमार बस्नेत, भुपेन्द्र पौडेल, विवशकुमार वाईवा र कृष्णप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

यस क्षेत्रमा महिला, युवा तथा विभिन्न समावेशी समूहबाट पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । खुला महिलातर्फ टिका कुमारी थापा (निता), दुर्गादेवी सुनुवार, बालकुमारी श्रेष्ठ (विमला) र मनिषा पोख्रेल निर्वाचित हुनुभएको छ ।

३५ वर्षमुनिको युवा खुलातर्फ मविन कुमार तामाङ र समिर विक्रम थापा (काजी) चयन हुनुभएको छ । खस आर्यतर्फ उज्ज्वल कुमार थापा तथा खस आर्य महिलातर्फ सम्झना कुमारी रोक्का निर्वाचित हुनुभएको छ ।

पेशागत विषय विज्ञतर्फ अधिवक्ता बोधविक्रम थापा महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । त्यस्तै अल्पसंख्यकतर्फ लालबहादुर सुनुवार, आदिवासी जनजाति खुलातर्फ यमबहादुर जर्गामगर, विक्रम घलान, कोकिल अस्थानी मगर र चतुरमान बल तथा अपाङ्गता कोटाबाट नवराज नेपाल निर्वाचित हुनुभएको छ ।

क्षेत्रीय अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुलीको प्रतिनिधित्व गर्नेछन् । दुवै क्षेत्रमा भएको निर्वाचनले जिल्लामा पार्टीको आगामी महाधिवेशन केन्द्रित राजनीतिक समीकरण र नेतृत्वको प्रतिनिधित्वलाई समेत थप स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *