मोतीबिन्दु शिविरमा १२ जना बिरामी छनोट
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका ३ स्थित स्वास्थ्य चौकी मथौलीमा आज सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरमा १२ जना मोतीबिन्दुका बिरामी छनोट भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठको अनुसार शिविरमा ५३ जनाको आँखाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा मोतीबिन्दु देखिएका १२ जना बिरामीलाई थप उपचारका लागि छनोट गरिएको हो । आँखा सम्बन्धी अन्य समस्या भएका बिरामीलाई शिविरमै निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

छनोट भएका मोतीबिन्दुका बिरामीको आगामी कात्तिक १३ र १४ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, Nige Allik Tee and Zhang Wen’s Family Singapore तथा Good Vision Nepal को सहयोगमा शिविर सञ्चालन गरिएको हो। मरिण गाउँपालिका ३ र नेपाल रेडक्रस सोसाइटी कपिलाकोट उपशाखाको संयोजन तथा व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले शिविर आयोजना गरेको हो।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखाको परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।


