हस्तलेखन तालिमपछि १४ विद्यार्थीलाई प्रमाणपत्र वितरण
सिन्धुली/श्री कमला माध्यमिक विद्यालय ढुङ्ग्रेबासमा विद्यार्थीको हस्तलेखन सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको सातदिने हस्तलेखन तालिम तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
बोधिनी लिपि एकेडेमीको आयोजनामा विद्यालयमै सञ्चालन गरिएको तालिममा कक्षा २ देखि १० सम्मका करिब २८० जना विद्यार्थी सहभागी भएका थिए । तालिम सम्पन्न भएपछि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विद्यालयमा आज एक आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ ।
विद्यार्थीको लेखाइलाई सफा, स्पष्ट र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमसँगै हस्तलेखन प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगिता नेपाली र अंग्रेजी गरी दुई विधामा सञ्चालन गरिएको थियो । कक्षागत रूपमा विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको र उत्कृष्ट विद्यार्थी छनोट गरी प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिमपछि विद्यार्थीहरूले आफूहरूको लेखाइमा सुधार आएको र अक्षरलाई सफा तथा आकर्षक बनाउन सिकेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । नियमित अभ्यास, अक्षरको बनोट र लेखाइको सफाइमा ध्यान दिन तालिमले आफूहरूलाई थप प्रेरित गरेको विद्यार्थीहरूको भनाइ छ ।

बोधिनी लिपि एकेडेमीकी फाउन्डर बिना बसेलले विद्यार्थीको हस्तलेखन सुधार गर्नुका साथै सफा, स्पष्ट र आकर्षक लेखनको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीमा लेखनप्रतिको रुचि बढाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।तालिममा गोमा मङ्ग्राती, अस्मिता मङ्ग्राती, तुलसा विश्वकर्मा र मुना तामाङले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए ।


