सिन्धुलीमा लागुऔषधको मुद्दा दोब्बर
सिन्धुली/सिन्धुलीमा लागुऔषध सम्बन्धी अपराधको ग्राफ वर्षेनी उकालो लागेको छ ।
जिल्ला अदालत सिन्धुलीमा दर्ता भएका मुद्दाको तथ्यांकले तीन वर्षको अवधिमा लागुऔषध सम्बन्धी मुद्दा दोब्बर भन्दा बढी बढेको देखाएको छ ।
जिल्ला अदालतको अनुसार आर्थिक वर्ष २०८०/८१ मा २७ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको थिए । त्यसको अर्को वर्ष अर्थात् २०८१/८२ मा ३९ वटा मुद्दा वटा दर्ता भए । आर्थिक वर्ष २०८२/८३ मा भने यो संख्या बढेर ५८ पुगेको छ ।
यसरी हेर्दा तीन वर्षमा लागुऔषध सम्बन्धी मुद्दा २७ बाट ५८ पुगेको छ । अर्थात्, अदालतमा दर्ता हुने मुद्दाको संख्या तीन वर्षमै दोब्बरभन्दा बढी भएको छ ।
अदालतको तथ्यांक अनुसार लागुऔषध सम्बन्धी मुद्दामा वयस्क उमेर समूहका व्यक्ति बढी प्रभावित तथा संलग्न हुने गरेका छन् । महिलाको संख्या भने पुरुषको तुलनामा कम रहेको छ ।

सिन्धुलीमा दर्ता हुने लागुऔषध सम्बन्धी मुद्दामध्ये खैरो हेरोइनसँग सम्बन्धित मुद्दा बढी देखिने गरेको छ । यसले जिल्लामा लागुऔषधको प्रयोगसँगै यसको ओसारपसार र कारोबार नियन्त्रणमा समेत चुनौती रहेको देखाउँछ ।

लागुऔषध नियन्त्रण गर्न प्रहरीसँगै स्थानीय तह, विद्यालय, परिवार, स्वास्थ्य संस्था र समुदायको भूमिका महत्वपूर्ण हुन्छ । प्रहरीले कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिको सञ्जाल पहिचान गरी कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
स्थानीय तहले भने विद्यालय र समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्नुका साथै लागुऔषध प्रयोगकर्ताका लागि परामर्श, उपचार र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
लागुऔषध नियन्त्रणमा परिवारको भूमिका पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । अभिभावकले आफ्ना सन्तानको संगत, व्यवहार र गतिविधिमा ध्यान दिनुका साथै समस्या देखिएमा लुकाउने भन्दा पनि समयमै परामर्श तथा उपचारको पहल गर्नुपर्ने आवश्यकता छ ।
तीन वर्षमा लागुऔषध सम्बन्धी मुद्दा २७ बाट ५८ पुग्नु सामान्य वृद्धि मात्र होइन, लागुऔषध नियन्त्रणका लागि थप प्रभावकारी रणनीति आवश्यक रहेको संकेत हो ।
अब लागुऔषध नियन्त्रणलाई पक्राउ र मुद्दा दर्तामा मात्र सीमित नराखी स्रोत नियन्त्रण र कारोबारीको सञ्जालमाथि अनुसन्धान, प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना र समुदायस्तरको रोकथामलाई एकसाथ अघि बढाउनुपर्ने देखिएको छ ।


