मरिणमा कविता लेखन कार्यशाला तथा रचना वाचन कार्यक्रम सम्पन्न
सिन्धुली/मरिण साहित्य समाजको आयोजनामा ‘कविता लेखन कार्यशाला तथा रचना वाचन कार्यक्रम-२०८३’ आज समापन भएको छ ।
मरिण साहित्य समाजका अध्यक्ष नीरुपम श्रेष्ठको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला माझीको विशिष्ट आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत रिजेश उवर्कोटीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले स्थानीय साहित्यको विकास र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको प्रतिबद्धताले स्थानीय साहित्यकार तथा साहित्यप्रेमीहरूलाई सिर्जनात्मक गतिविधिमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा काठमाडौं, चितवन, हेटौँडा तथा सिन्धुलीका साहित्यकारहरूले आफ्ना कविता, गजल तथा मुक्तक वाचन गरेका थिए । काठमाडौंका अभय श्रेष्ठ र स्वप्निल स्मृति, चितवनका गणेश श्रमण, हेटौँडाका डी।बी। बर्तौला तथा सिन्धुलीका अमला अधिकारी, लोकेन्द्र डहरे, खडानन्द तिमल्सिना, अमृत भिमानेली, ध्रुवचन्द्र खड्का र मैया लामिछानेले आ-आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।


कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई कविता र गजलको के हो र? कसरी लेख्ने र? तिनको स्वरूप, विशेषता तथा लेखन प्रक्रियाबारे जानकारी गराइएको थियो ।
त्यसैगरी कार्यक्रममा कमला सामुदायिक पुस्तकालयका कोषाध्यक्ष नारायण प्याकुरेल, बुढ्यौली साहित्य समाजका अध्यक्ष केदारप्रसाद फुयाल, पल्लवी ज्ञान मञ्चका अध्यक्ष तीर्थ यात्री तथा स्थानीय साहित्यकार भोजराज ढकाल, गोपाल बुढाथोकी र काजिमान तामाङ लगायत समाजसेवी, बुद्धिजीवी, पालिकाका कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउन, सिर्जनात्मक चेतना अभिवृद्धि गर्न र साहित्यकारबीच अनुभव तथा सिर्जना आदानप्रदान गर्ने वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।


