हरिहरपुरगढीका दुई वडामा बजार अनुगमन, म्याद गुज्रिएका सामान भेटिएपछि कारबाही
सिन्धुली/चाडपर्वलाई लक्षित गर्दै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका दुई वडामा बजार अनुगमन गरिएको छ ।
गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको संयुक्त टोलीले आज वडा नम्बर ७ र ८ मा सञ्चालित विभिन्न व्यापारिक फर्म तथा पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य तथा अन्य उपभोग्य सामग्री फेला परेका थिए । म्याद गुज्रिएका सामान बिक्रीका लागि राखेको भेटिएपछि सम्बन्धित व्यवसायीलाई जरिवाना सहित कारबाही गरेको पालिकाले जानकारी दिएको छ । साथै आगामी दिनमा म्याद गुज्रिएका सामान बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत गराइएको छ ।
अनुगमन टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले गर्नुभएको थियो ।टोलीमा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्रबहादुर थापामगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदी, खाद्य निरीक्षक अतिश घिमिरे, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नहकुल ढकाल, गाउँपालिकाका योजना शाखाका राजुकुमार उप्रेती, उद्यम विकास सहजकर्ता पोस्टराज विश्वकर्मा, घरेलु कार्यालयका विष्णुप्रसाद पोख्रेल तथा प्रहरी हवल्दार कौशलकिशोर यादव लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा व्यवसायीले स्थायी लेखा नम्बर (प्यान) दर्ता गरे-नगरेको, बिक्री बिल जारी गर्ने व्यवस्था भए–नभएको, खाद्य अनुज्ञापत्र लिए-नलिएको लगायतका विषयमा जाँच गरिएको थियो ।

त्यसैगरी मासु तथा मिठाइको गुणस्तर, ग्यासको तौल र मूल्य, खरिद बिल, यसअघि अनुगमनका क्रममा दिइएका निर्देशनको पालना लगायतका विषयमा समेत निरीक्षण गरिएको टोलीले जनाएको छ ।
चाडपर्वका समयमा उपभोक्ताको हित संरक्षण तथा बजारमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्ने उद्देश्यले गरिएको अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ ।


