सिद्धबाबा उपशाखाको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान
सिन्धुली /“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा सिन्धुलीले खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
खुला रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।ढुंग्रेबासस्थित बकेश्वर महादेव मन्दिर परिसरमा रहेको सिद्धबाबा उपशाखाको प्राङ्गणमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा स्थानीय रक्तदाताहरूको सहभागिता रहेको थियो ।
रक्तको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढाउँदै आयोजना गरिएको कार्यक्रममा २६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा सिन्धुलीका अध्यक्ष सन्तोष बोहोराले जानकारी दिनुभयो ।
अध्यक्ष बोहोराले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा सिन्धुलीको आयोजनामा भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कमलामाई नगर शाखाले समन्वय गरेको थियो ।संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।


