सिन्धुली-२ मा विजय कुँवरको निर्विरोध नेतृत्व, अन्य पदमा चुनाव हुँदै
सिन्धुली/नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. २ मा विजय कुँवरले क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्ने भएका छन्।
क्षेत्रीय सभापतिमा कुँवरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।क्षेत्रीय समितिको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको थियो।
मंगलबार निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गर्दा सभापति पदमा कुँवरको मात्र उम्मेदवारी कायम रहेको थियो। एकल उम्मेदवारी परेसँगै कुँवर निर्विरोध निर्वाचित भएका हुन्।
कुँवरको नेतृत्वमा १२ सदस्यीय क्षेत्रीय समिति पनि निर्विरोध निर्वाचित भएको छ। क्षेत्रीय सचिवमा छेडुप मोक्तान तथा सहसचिवमा उत्तरकुमार वाईवा र लिला कुमारी दाहाल निर्वाचित भएका छन्।
त्यस्तै, खुला सदस्यतर्फ सर्मिला पराजुली, हरिकृष्ण बुढाथोकी, लवराज देवकोटा र भीमप्रसाद देवकोटा निर्वाचित भएका छन्। आदिवासी जनजातितर्फ रुपककुमार थिङ र धनसिंह योञ्जन, खस आर्यतर्फ मिनबहादुर कार्की तथा युवा खुला सदस्यमा मिलन देवकोटा निर्वाचित भएका छन्।
सभापतिसहित क्षेत्रीय समिति निर्विरोध बनेसँगै सिन्धुली-२ मा कांग्रेसको आन्तरिक निर्वाचनको एउटा महत्वपूर्ण चरण सहमतिमै टुंगिएको छ। अब अन्य पदका लागि भने आज निर्वाचन हुँदैछ।
आज हुने निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति बढेसँगै चुनावी माहोलसमेत तातेको छ। बाँकी पदको निर्वाचन र त्यसबाट आउने परिणामले क्षेत्रीय राजनीतिमा आगामी नेतृत्वको स्वरूप निर्धारण गर्नेछ।

निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन समितिले आवश्यक तयारी पूरा गरेको जनाएको छ।


