तीनपाटन गाउँपालिकाले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने
सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिकाले स्थानीय नागरिकको सीप क्षमता अभिवृद्धि गरी रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्ने उद्देश्यले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न तीन विधामा तालिम सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिकाको अनुसार पावर टिलर मर्मत, कम्बाइन राइस मिल तथा वाटर पम्प मर्मत, एआई तथा डिजिटल मार्केटिङ र कम्प्युटर तथा प्रिन्टर मर्मत सम्बन्धी तालिम सञ्चालन गरिनेछ । प्रत्येक विधामा २०/२० जनालाई सहभागी गराइने पालिकाले जानकारी दिएको छ ।
तालिममा सहभागी हुन तीनपाटन गाउँपालिकामा स्थायी बसोबास गर्ने १६ देखि ४५ वर्ष उमेर समूहका नागरिकले आवेदन दिन सक्नेछन् । पावर टिलर मर्मत, कम्बाइन राइस मिल तथा वाटर पम्प मर्मत तालिमका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ । त्यस्तै एआई तथा डिजिटल मार्केटिङ र कम्प्युटर तथा प्रिन्टर मर्मत सम्बन्धी एस ईई उत्तीर्ण तोकिएको छ ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।निवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले लिन चाहेको तालिम क्षेत्र खुलाइएको निवेदन तथा पासपोर्ट साइजको दुई प्रति फोटो संलग्न गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
स्थानीय युवाको सीप विकासमार्फत रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्यसहित तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।



