सिन्धुलीको कलाघरमा राष्ट्रिय कला महोत्सव सुरु

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा राष्ट्रिय कला महोत्सव सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बिहीबार महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको हो ।

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले कला र सँस्कृतिलाई विश्वव्यापीरुपमा चिनाउन अग्रसर सिन्धुली कलाघरलाई निर्धक्क भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री लामाले कला घरलाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्न बागमती प्रदेश सरकारको तर्फबाट उचित सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कलालाई आफूले सधैँ सम्पत्तिको रूपमा लिएको बताउँदै मुख्यमन्त्री लामाले कला र सँस्कृतिको विकास र संरक्षणबिना देशको समृद्धि हुननसक्ने धारणा राख्नुभयो । आउँँदो पुस्तालाई कला र सँस्कृतिको हस्तान्तरणमा कलाघरको महत्वपूर्ण भूमिका रहने वहाँको भनाई छ ।

त्यस्तै महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कला घरलाई पर्यटकिय क्षेत्रको रूपमा प्रवद्र्धन गर्न र नेपाललाई विश्वव्यापी रुपमा चिनाउन कला घरले अझ धेरै मद्दत गरेको भन्दै प्रशंसा गर्नुभयो । कला घर निर्माण, व्यवस्थापन र संरक्षणको विषयमा आफू सँधै गम्भिर रहेको र सोहि अनुसार सहयोग पनि गरिरहेको पोखरेलको भनाई छ ।

कला घर सिन्धुलीको आयोजनामा सुरु भएको राष्ट्रिय कला महोत्सव कलाघर निर्माणको महाअभियानमा हातेमालोसंगै मौलिक कला संस्कृतिको प्रवद्र्धन तथा कलाघरको प्रचार प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कला घरलाई राष्ट्रिय कला संग्रहालयको रुपमा स्थापित गर्ने र कला आश्रमको रुपमा विकास गर्ने उद्देश्य रहेको कलाघरका अध्यक्ष सुमन थापामागरले बताउनुभयो । सात दिनसम्म सन्चालन हुने महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरूको नमूना, मौलिक खानेकुराहरुको परिकारहरू, जातजातिको झाँकी प्रदर्शन, खानाको लागि व्यवस्था, हस्तकला, चित्रकला, मूर्तिकला लगायत कलाहरूको प्रदर्शन गरिने छ ।

विशेषगरि चियादानीको आकारमा रहेको चियाघरमा पकाइएको अर्गानिक चिया र घरजत्रै आकारमा निर्माण गरिएको ठेकीमा राखिएको मोहिको स्वाद पनि महोत्सवको आकर्षण बन्नेछन् । लोक दोहोरी गीत प्रतियोगिता, मौलिक खैँजडी भजनको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गीत संगितको प्रस्तुति, नृत्यहरु, साहित्यिक कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रमहरु महोत्सवको आकर्षणको रुपमा रहनेछन् ।

उद्घाटन कार्यक्रममा विशेषगरि विभिन्न जातजातिहरुको पहिचान झल्कने झाँकीहरु, पञ्चेबाजा र मयुर नृत्यलाई धेरैले आकर्षणको रुपमा लिएका छन् । कार्यक्रममा बोल्ने अतिथिहरुले महोत्सवको आयोजना गर्नु नै पहिलो सफलता भएको बताउँदै यसको थप प्रगति र सफलताको शुभकामना दिएका छन् । साथै आफ्नो तर्फबाट सम्बन्धित सँस्था, व्यक्ति तथा निकायहरुले महोत्सव सफल पार्न सहयोग गर्ने कुरालाई यो वा त्यो बाहानामा पन्छाउन नहुने कुरामा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *