दुधौलीको बासबोटेमा रूखबाट लडेर सुनुवारको मृत्यु

सिन्धुली/जिल्लाको दुधौली नगरपालि १४ बासबोटेमा रूखबाट लडेर गम्भीर घाइते भएका ६५ वर्षीय वृद्धा यमबहादुर सुनुवारको उपचारका क्रममा मृत्यु भएको छ । वृद्धा आज बुधवार बिहान ८ बजे आफ्नै घर छेउमा रहेको बडहरको रूखमा चढी घाँस काट्ने क्रममा अचानक लड्दा गम्भीर घाइते भएका थियो ।
वृद्धा सुनुवारको टाउको, दाहिने खुट्टा र छातीमा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि बिहान ९:५० बजे नगर अस्पताल कटारी, उदयपुर पुर्याइएको थियो । तर सुनुवारको उपचारका क्रममा आज बिहान १०:१० बजे अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको काण्डमा खटिएको अनुसन्धान टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरी रहेको काफ्लेले बताउनु भयो।