भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, कमलामाई नगरपालिका र नेवाः देय् दबूद्वारा दीप प्रज्वलन
सिन्धुली/रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै कमलामाई नगरपालिकाले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
सोही अवसरमा नेवाः देय् दबू कमलामाई नगर समितिले पनि दीप प्रज्वलन गरी बाढीमा दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित कमलामाई नगरपालिकाले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रम नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख, नगर उपप्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी-व्यवसायी, पत्रकार तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो । प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मरण गर्दै सहभागीहरूले एक मिनेट मौन धारण गरेका थिए ।

त्यस्तै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको थियो ।
यसैबीच नेवाः देय् दबू कमलामाई नगर समितिले पनि भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको छ । समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा गरिएको दीप प्रज्वलनमार्फत दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको हो ।
साथै नेवाः देय् दबू कमलामाई नगर समितीका अध्यक्ष दीपक श्रेष्ठले यस अत्यन्तै कष्टकर र दुःखद् क्षणमा दिवङ्गत आत्माको वैकुण्ठवासको कामना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै उहाँले गहिरो समवेदना व्यक्त गर्नुभएको छ।



