नेवार समुदायद्वारा सिन्धुलीमा लाखे प्रदर्शन, संकलित रकम रसुवाका पीडितलाई

सिन्धुली/सिन्धुलीमाढीमा कृष्ण जन्माष्टमीको अवसरमा नेवार समुदायले विविध मौलिक सांस्कृतिक कार्यक्रम लाखेजात्रा गरेको छ ।

कृष्ण जन्माष्टमीमा सिन्धुलीमाढीमा आयोजित लाखे नाच, रोपाई जात्रा, धिमे नाच तथा विभिन्न सांस्कृतिक झाँकीले बजार क्षेत्रलाई उत्सवमय बनायो भने कार्यक्रमबाट संकलित सहयोग रसुवाका बाढीपीडित सम्म पु¥याउने घोषणा गरिएको छ ।

नेवा दय दवू कमलामाई नगर समितिको आयोजनामा भएको नेवार समुदायको मौलिक पर्व लाखेजात्रमा संकलित रकम रसुवा वाढीपिडितलाई प्रधानमन्त्री राहात कोषमा जम्मा गर्ने आयोजक समितिको अध्यक्ष मिनबहादुर श्रेष्ठ (दिपक)ले बताउनु भयो । यस वर्षको कार्यक्रमको विशेष पक्ष भने सांस्कृतिक उत्सवसँगै सामाजिक उत्तरदायित्वलाई जोडिनु हो ।

उहाँको अनुसार कार्यक्रम रातिसम्म सञ्चालन भएकाले संकलित रकमको यकिन विवरण आउन बाँकी छ । सहयोग संकलन पूरा भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिने छ । संस्कृति जोगाउने अभियानसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

जात्राका क्रममा नेवार समुदायको पुस्तौँ पुरानो सांस्कृतिक पहिचान झल्काउने लाखे नृत्य, रोपाई जात्रा र धिमे नाचसँगै विभिन्न मौलिक झाँकी प्रस्तुत गरीएको थियो । यस्ता कार्यक्रमले मौलिक संस्कृति संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो इतिहास, कला र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।

यसरी सिन्धुलीमाढीमा गुञ्जिएको लाखेको तालले नेवार समुदायको मौलिक पहिचानलाई जीवन्त बनाउनुका साथै विपद्मा परेका नागरिकप्रतिको सहानुभूति र सहयोगको सन्देशसमेत दिएको देखिन्छ । संस्कृतिको उत्सवलाई सेवाको अभियानसँग जोड्दै नेवार समुदायले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ ।

नेवाः देय दवु कमलामाई नगर समिति सिन्धुलीको आयोजनामा भएको सांस्कृतिक जात्रा कमलामाई नगरपालिका-२ स्थित भीमसेन मन्दिरबाट सुरु भएको थियो । परम्परागत बाजागाजा सहित अघि बढेको जात्रा गैह्रीबजार, १ नम्बर बजार, स्टल, बसपार्क र धुराबजार हुँदै कमलामाई-४ ढुंग्रेवासस्थित कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *