देउराली युवा क्लबमा नयाँ कार्यसमिति,अध्यक्षमा दानियोल बयलकोटी
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ को देउराली युवा क्लबले नयाँ नेतृत्व पाएको छ ।
क्लबको दोस्रो साधारण सभा तथा आमभेलाबाट दानियोल बयलकोटीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
क्लबलाई आगामी दिनमा थप प्रभावकारी, व्यवस्थित र युवामैत्री ढंगले सञ्चालन गर्ने विषयमा साधारण सभा तथा आमभेलामा व्यापक छलफल गरिएको थियो । भेलामा क्लबका आगामी योजना, युवाको सहभागिता विस्तार तथा सामाजिक क्षेत्रमा क्लबले खेल्नुपर्ने भूमिकाका विषयमा समेत छलफल भएको थियो ।

कमलामाई नगरपालिका ४ की वडा सदस्य गोरीमाया विसुन्केको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देउराली युवा क्लबका अध्यक्ष सुरेन्द्र सापकोटाले अध्यक्षता गर्नुभएको थियो ।

साधारण सभाबाट गठित नयाँ कार्यसमितिको सचिवमा गंगा विसुन्के र कोषाध्यक्षमा शम्भु भुजेल चयन भएका छन् । सदस्यहरूमा मिना रम्तेल, शान्ता बर्मा, जगदिश बराल, सिर्जना थापा, तीर्थ भुजेल र कविता लामा रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष बयलकोटी सहितको नयाँ कार्यसमितिले क्लबलाई सक्रिय बनाउँदै युवाको क्षमता विकास, सामाजिक सेवा तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताइएको छ ।

देउराली युवा क्लबले आगामी दिनमा स्थानीय युवालाई संगठित गर्दै खेलकुद, सामाजिक सेवा, जनचेतना तथा विभिन्न रचनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


