घण्टेमा मिनी ट्रक दुर्घटना : पैदलयात्रीको मृत्यु, दुई मोटरसाइकल सवार घाइते

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ घण्टेमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ करिब ७ः३० बजे सिन्धुली तर्फबाट मकवानपुर जाँदै गरेको बा.प्र.०३-००१ ख १८१४ नम्बरको खाली मिनी ट्रकले सडकमा पैदल हिँडिरहेका स्थानीय करिब ४५-५० वर्षीय माइते राईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राईलाई ठक्कर दिएपछि सडक छेउमा रोकिएको मिनी ट्रकमा मधेश प्रदेश ०२-०१० प ००३४ नम्बरको मोटरसाइकलसमेत ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका-६ का २३ वर्षीय सुरेश कुमार साह र पछाडि सवार २९ वर्षीय सुशान्त साह घाइते भएका छन् ।

प्रहरीका अनुसार सुरेशको गाला र अनुहारमा चोट लागेको छ भने सुशान्तको दाहिने हात, नाक तथा मुखमा चोट लागेको छ । घाइते दुवैलाई थप उपचारका लागि मकवानपुरको झुरझुरेस्थित साजी मेडिकल पठाइएको छ ।

घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी राति ११ः४० बजे मृतक राईको शव पोस्टमार्टमका लागि कपिलाकोट स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण तथा घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *