रसुवा बाढीपीडितका लागि व्यवसायी र सामुदायिक वनले दिए १ लाख ५१ हजारभन्दा बढी सहयोग

सिन्धुली/भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेकाहरूको राहतका लागि सहयोग जुटाउने क्रम जारी छ ।

बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र विश्वकर्माले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ ।उहाँले आज सिन्धुलीका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित नरेन्द्र सुनचाँदी पसलका सञ्चालक विश्वकर्माले ग्लोबल आईएमई बैंकमार्फत उक्त रकम सहयोग गर्नुभएको हो । विपद्को कठिन घडीमा पीडित परिवारलाई थोरै भए पनि राहत र सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो ।

यसैबीच तीनपाटन गाउँपालिका-५ लङ्गुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि छुट्याएको ५० हजार रुपैयाँ विपद् प्रभावितका लागि सहयोग गरेको छ ।

सामुदायिक वनले आफ्नो सेवा क्षेत्रभित्रका महिला दिदीबहिनीका लागि तीजको दर कार्यक्रम आयोजना गर्न छुट्याएको उक्त रकम हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको हो ।

भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोका कारण घरमा क्षति पुगेका तथा आफन्त बेपत्ता भएका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले तीजको दर कार्यक्रमका लागि छुट्याइएको रकम विपद् उद्धारका लागि सहयोग गरिएको सामुदायिक वनले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *