सिन्धुलीमा लागुऔषध सेवन गर्ने तीन चालक पक्राउ
सिन्धुली/लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा सिन्धुलीमा तीन जना चालक पक्राउ परेका छन् । राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
कमलामाई नगरपालिका ९ स्थित भिमान बसपार्कमा बुधबार बिहान गरिएको लागुऔषध परीक्षणमा तीन चालकको नतिजा पोजेटिभ आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानको संयुक्त टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली तथा स्वास्थ्य चौकी भिमानका स्वास्थ्यकर्मीको सहयोगमा बीपी राजमार्ग र मदन भण्डारी राजमार्गमा चल्ने सवारी चालकहरूको स्वास्थ्य तथा लागुऔषध सेवन परीक्षण गरेको थियो ।
प्रहरीका अनुसार ट्रक, बस, माइक्रो, सुमो, इलेक्ट्रिक भ्यान र पिकअपलगायत सवारीका ४५ जना चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये १९ जना चालकको लागुऔषध सेवन परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-१ का करिब ३१ वर्षीय यमबहादुर रम्तेल, महोत्तरी बर्दिबास नगरपालिका-३ गौरिडाँडाका २६ वर्षीय अजित बराल र सिन्धुली कमलामाई नगरपालिका-११ का करिब २२ वर्षीय आशिष परियार रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भिमानमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


