भोटेकोशी बाढीपीडितको राहतका लागि स्वाधीन खबरद्वारा ५ हजार सहयोग

सिन्धुली/रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीबाट प्रकाशित स्वाधीन खबर पत्रिका प्रकाशन समूहले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

स्वाधीन खबरका प्रकाशक तथा प्रधान सम्पादक एवं बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका सदस्य रुद्रबहादुर खड्काले पत्रिकाको आम्दानीबाट विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको खड्काले बताउनुभयो ।

संस्थाको २०८३ भदौ २२ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भदौ २६ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । रकम जम्मा गरेपछि प्राप्त भौचर सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो। भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्वाधीन खबरले गरेको सहयोगले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधान सम्पादक खड्काले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *