• कार्तिक १२, सिन्धुली/दशैँ सकिएसँगै सिन्धुलीका किसानलाई धान काट्ने चटारो सुरु भएको छ । यसबर्षको वर्षे धान भित्र्याउन किसानहरु धमाधम धान काट्ने मेलोमा छन् ।

    कार्तिक लागेपछि धानपाक्न सुरु भएपनि दशैँले गर्दा किसानहरु भर्खर धान काट्ने चटारोमा ब्यस्त छन् । सिन्धुलीको कमलामाई नगरपालिकाको फाँट, दुधौली नगरपालिकाको कमलाखोँच, मरिण हरिहरहरपुरगढी, तीनपाटन क्षेत्रका ठूला फाँटहरुमा किसानहरुलाई यतिबेला धान काट्न भ्याइनभ्याई भइरहेको छ ।

    धान भित्र्याउने समयमा मौसम परिवर्तन हुन सक्ने भन्दै कृषकहरु चिन्तित पनि छन् । बर्षभरी खाने धान पानी परेर भित्र्याउन नपाइने होकी भन्ने चिन्ताले गर्दा धान काट्न र भित्र्याउन हतार गरिरहेको किसानहरु बताउँछन् । भकारीमा परिश्रमको मूल्य थन्क्याएर खुसीको लामो सास फेर्नेबेलामा प्रकृतिले साथ नदिने होभने किसानहरुका लागि यो भन्दा बज्रपात केनै होला र ? आकासमा कालो बादल मडारिदा किसानहरुमा चिन्ताको बादल मडारिन्छ ।

    खेतभरि पहेँलपुर भएर पाकेको धान काट्न र भित्र्याउन यतिबेला किसानहरु व्यस्त देखिन्छन् । दशैँमा टिका लाउन जानुपर्ने ठाउँमा पनि नगएर उनिहरु यतिवेला धान काट्न तल्लिन छन् । उनिहरु दशैँको बाँकी खुसी आफ्नो परिश्रमसंग साटिरहेका छन् । जिल्लाको तराई क्षेत्रमा पहाडि भू–भागमा भन्दा छिटो धान रोपिने भएकाले कार्तिकको दोस्रो साताबाट धान काट्न सुरु गरिने भएकाले तराईमा भन्दा पहाडि क्षेत्रमा यतिवेला धान काट्ने काम पहिलो प्राथमिकतामा रहेको छ ।

    सिन्धुलीमा अघिल्लो बर्ष १५ हजार ४ सय २२ हेक्टर अर्थात ९६ प्रतिशत धान रोपाईं भएकोमा ४२ हजार ९ सय ४२ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाइएको छ । सिन्धुलीमा कुल ६२ हजार ७ सय १३ हेक्टर खेतियोग्य जमिन रहेको छ ।