सिन्धुलीमा बालिका हराउने क्रम बढ्दै

साउन ३, सिन्धुली/सिन्धुलीमा बालिका बेपत्ता हुने क्रम बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक हेर्नेहो भने आर्थिक वर्ष २०७९/८० मा मात्रै ४३ जना बालिका बेपत्ता भएका थिए । तर सबैलाई प्रहरीले फेला पारेर परिवारको जिम्मा लगाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला, बालकालिका तथा ज्येष्ठ नागरिक केन्द्रको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/७६ मा जिल्लाबाट ३२ जना बालिका बेपत्ता भएकोमा २७ जना मात्रै प्रहरीले फेला पार्न सफल भएको थियो । ५ जना बालिका अझै पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
त्यस्तै आर्थिक बर्ष २०७६/७७ मा ३२ जना बालिका हराएकोमा २५ जना फेला परेका थिए । आर्थिक बर्ष २०७७/७८ मा ३६ जना बालिका बेपत्ता थिए । त्यो बर्ष प्रहरीले ३० जना फेला पारेको तथ्याङ्क छ । आर्थिक बर्ष २०७८/७९ मा जिल्लाबाट ३७ जना बालिका हराएकोमा २७ जना फेला परेपनि अझै १० जना बालिका सम्पर्क विहिन छन् भने आर्थिक बर्ष २०७९/८० मा ४३ जना बालिका हराएको उजुरी परेकामा ४३ जनानै फेला पारेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
धेरैले पारिवारिक हिंसा सहन नसकेपछि, परिवारको कमजोर आर्थिक अवस्था, अभिभावकको बहुविवाह, सम्बन्ध विच्छेद, मादक पदार्थ सेवनमा लिप्त अभिभावकका कारण, साथिको संगतले गर्दा घर छोडेर हिँड्ने गरेको र कतिपयलरे बालबिवाह गरेकाे प्रहरी प्रमुख शिलवालले बताउनु भयो । उहाँले भन्नुभयो “बालबालिकालाई कसरी हेरचाह गर्ने, के के ख्याल गर्ने ? हरेक अभिभावकको व्यस्त जीवनशैली छ । आफ्नो बच्चालाई पर्याप्त समय दिन सकिरहेका छैनन् । यसैका कारण बालिका बढि शिकार बन्ने गरेको पाइन्छ ।” ।
त्यसो त सिन्धुलीबाट बालक पनि बेपत्ता हुने गरेका छन् । तर बालकको सङ्ख्यामा बालिका तेब्बर बेपत्ता भएको तथ्याङ्कले देखाउँछ । आर्थिक बर्ष २०७९/८० मा जिल्लाबाट १० जना बालक बेपत्ता भएकोेमा ९ जना फेला परेका छन् भने १ जना अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *