• जेठ २६, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका १२ जना युवा उद्यमीहरुलाई बुधबार एक कार्यक्रम गरेर बिना धितो तथा बिना व्याज कर्जा उपलव्ध गराएको छ । नगरपालिका कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत नगर युवा स्वरोजगार कार्यक्रम सन्चालन कार्यविधि २०७७ अनुसार नगरपालिका कायालयले कर्जा उपलव्ध गराएको हो ।

    नगर युवा स्वरोजगार कार्यक्रम सन्चालन कार्यविधिको परिधिभित्र रहि युवा उद्यमीहरुलाई व्यवसायका साथै शैक्षिक प्रमाण पत्रको आधारमा समेत बिना धितो तथा बिना व्याज शैक्षिक कर्जा उपलव्ध गराइएको कमलामाई नगरपालिका कार्यालयका सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो । कर्जा पाउने उद्यमीहरुमा कमलामाई नगरपालिका वडा नं.९ का नरेन्द्र बहादुर कार्की, वडा नं. ६ का नागेन्द्र ठाकुर, वडा नं.९ का प्रितम कुमार पौडेल, वडा नंं.६ का पवन कुमार बस्नेत, वडा नंं ९ का मनोज बराल, वडा नंं.६ का राजु पाख्रिन, वडा नं.१० का लाल कुमार हायु, वडा नंं.२ का लिला बहादुर योन्जन, वडा नंं.८ का विना कुँवर, वडा नं. ५ का सुनिता श्रेष्ठ, वडा नंं.६ का सम्झना ढकाल तथा वडा नंं. ४ की सुर्य प्रभा आचार्य रहेका छन् । कुखुरा पालन, शैलुन व्यवसाय, बंगुर पालन, बाख्रा पालन, व्युटी पार्लर व्यवसाय देखि होटल व्यवसाय सम्मका लागि नगरपालिकाले कर्जा उपलव्ध गराएको छ ।

    नगर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत पहिलो पटक वितरण गरिएको कर्जामा यसपटक शैक्षिक कर्जा समेत उपलव्ध गराइएको छ । कमलामाई नगरपालिका वडा नं.५ की सुनिता श्रेष्ठलाई नगरपालिकाले प्रमाण पत्रको आधारमा ५ लाख रुपैयाँ शैक्षिक कर्जा उपलव्ध गराएको हो । युवा उद्यमीहरुले न्युनतम २ लाख देखि अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गरेका छन् । जम्मा २४ महिनाका लागि उपलव्ध गराइएको उक्त कर्जा लगानीको छैठौँ महिनादेखि १९ किस्तामा तिरिसक्नुपर्ने छ । त्यसो त कमलामाई नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४२ जना युवा उद्यमीहरुलाई १ करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ । उक्त कर्जाको किस्ता आउन समेत सुरु गरिसकेको सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।