• स्थानीय तहमा जनप्रतिनीधिहरुले कार्यभार सम्हालेको ३ वर्ष पूरा भैसकेको छ । सबै जनप्रतिनीधिहरुले आफूले गरेका कार्यसम्पादनप्रति समान रुपमा प्रशंसा र आलोचना पाउन प्रायः संभव हुँदैन । तर कमलामाई नगरपालिका वडा नं.५ मा वितेका ३ वर्षमा सम्पन्न भएका कामहरुको फेहरिस्ता हेर्ने हो भने तुलनात्मक रुपमा विवाद कम र विकास बढि गरिएको वडामा गनिन्छ । पार्टीलाई भन्दा वडाबासीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरियो भने जनप्रतिनीधिले अपजस खेप्न नपर्ने वडा नं.५ का वडा अध्यक्ष पूर्ण वहादुर खड्काको अनुभव छ । प्रस्तुत छः वडा नं.५ मा विकास निर्माणको अवस्था, प्राथमिकतामा परेका वर्तमान योजना लगायतका विषयमा वडा अध्यक्ष पूर्ण वहादुर खड्कासंग सिन्धुली खवर डटकम र सिन्धुली अपडेट साप्ताहिकका लागि गरिएको कुराकानी ।

    १) वडा नं. ५ को अध्यक्ष भएर काम गर्न थाल्नुभएको ३ वर्ष पूरा भैसकेको छ । यो अवधिमा आफूले गरेका कामप्रति वडाबासीहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
    – हामि जनताको काम गर्न आएका हौं । विकास निर्माणका कार्यलाइ गति दिने हो । वडा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको काम छिटो र सरल ढंगले गरिदिने हो । सधैं जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने हो । जनताको प्रतिनिधी भएकाले प्रशंसा तथा आलोचना गर्ने जिम्मा पनि जनताकै हो । तर आजका दिन सम्म आइपुग्दा सकारात्मक सल्लाह सुझाव तथा प्रतिकृया पाएको छु ।

    २) वडाका गतिविधीहरु सन्चालन गर्न नगरपालिकासंग कसरी समन्वय गर्नुभएको छ ?
    – वडाका हरेक गतिविधिहरु संचालन गर्नका लागि आवश्यक पत्राचार, सिफारिश लगायतका कामहरुमा प्रत्यक्षरुपमा संलग्न भएर समन्वयात्मक भूमिका निर्वाह गरिरहेको छु । मलाई लाग्छ वडाले नगरपालिकासंग गर्ने समन्वयमा कुनै कमि छैन ।

    ३) आर्थिक वर्ष २०७७/७८ का लागि आफ्नो वडामा के कस्ता योजनाहरु ल्याउनुभएको छ ?
    – आ.व.०७७/०७८ को सुरुवातमा नै कोभिड–१९ ले विश्व नै आक्रान्त वनाएको अवस्था हो र यसले नेपालमा समेत नराम्रो प्रभाव पारेकोले विकास निर्माणको लागि छुट्याइएको सिमित वजेटको वावजुद पनि भौतिक पूर्वाधार विकास, शिक्षा, खानेपानी, कृषि, सिंचाई जस्ता योजनाहरु प्राथमिकतामा छन् । यति हुँदाहुँदै पनि वडा नं. ५ ले कृषिलाइ विशेष प्राथमिकता दिएको छ । लक्षित वर्गका कार्यक्रमहरुको सम्बन्धमा ती कार्यक्रमहरु नगरस्तरबाटै संचालन हुने भएकाले नगरका सवै वडामा त्यस्ता कार्यक्रमहरु नगर कार्यपालिकाको निर्णय बमोजिम संचालन हुनेछन् ।

    ४) तीन वर्षसम्म आफ्नो नेतृत्वमा भए गरेका विकास निर्माणका कामहरुलाई कसरी लिनुभएको छ ?
    – निर्वाचित भएबाट तिन वर्ष सम्मको अवधिमा शैक्षिक क्षेत्रमा भन्नु पर्दा कमला जनज्योति मा.वि. सिलामेमा तिन वर्षे वन विज्ञान संकाय सफाताका साथ संचालन गरिएको छ । नाला सहितको बाटो निर्मण, पक्की पुल – १, फलामे पुल – १, कज्वे – ७, मिटर सहितको ३०० घरधुरीमा खानेपानी संचालन, विभिन्न स्थानमा खानेपानीको इनार ४२ वटा, जेष्ठ नागरिक भवन निर्माण, शहरी स्वास्थ्य केन्द्र संचालन तथा भवन निर्माण, शहरी विकास कार्यालयसँगको विशेष समन्वयमा मधुटार– चिसापानी झोरा–ढाक्रेवास लगायतका सडक कालोपत्रे भएका छन् । विकास निर्माणका अन्य सानातिना कामहरु पनि सम्पन्न भएका छन् तिनलाई गणनामा उल्लेख गर्नु उपयुक्त नहोला । यी र यस्तै कार्यहरुमा सहज रुपमा सफलता प्राप्त भएको छ । वडामा कार्यरत कर्मचारीहरु एवं वडावासीहरुको समन्वयकारी भूमिका रहेकोले हरेक कार्यहरु सहजरुपमा सम्पादन भएको महसुस गरेको छु ।

    ५) वडा सदस्यहरुसंगको सम्बन्ध तथा सहकार्य कस्तो छ ?
    – वडा सदस्यहरुबाट पूर्ण सहयोग पाएकोछु । यो मेरो टिम हो । आज सम्म जति कामहरु सम्पन्न भएका छन यो टिमको सहयोग र सल्लाहबाटै भएको हो । संगसंगै वडाका कर्मचारीहरुको सहयोगबाट नै आजको यो अवस्था सम्म आएका छौँ । जे जति भएको छ सिंगो टिमको बलले भएको छ । हामीमा कुनै मतभेद छैन ।

    ६) कमलामाई नगरपालिका अन्तरगत अन्य वडाहरुको तुलनामा वडा नं.५ बिबाद कम र बिकास बढि भएको वडा हो भनेर सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । यसलाई कसरी लिनुभएको छ?

    – यो कुरा सत्य हो । अन्य वडाको तुलनामा यस वडामा विकास भएको कुरा जनसमुदायस्तरबाट आउने गरकोको सत्य नै हो । यो सवै कुरामा वडावासीहरुको विशेष भूमिका रहेकोछ । हिजो निर्वाचित हँुदाका बखत कुनै पार्टीबाट प्रतिनिधित्व गरेको भएता पनि हामी नेता भएर हैन, विकास निर्माणका कार्य तथा सामाजिक सेवा गर्न सामाजिक कार्यकर्ता भएर आएका हौं । त्यसैले हामिले यो वा त्यो पार्टी अथवा व्यक्ति नभनिकन कामलाइ मात्र पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरेकाले पनि चारैतिरबाट सकारात्मक प्रतिकृयाहरु आएका हुन् । यसबाट मलाई आगामी दिनमा आफ्नो पदिय जिम्मेवारी सम्हाल्नका लागि थप हौसला मिलेको महसुस गरेको छु । यस वडामा विवाद किन भएन भन्ने सन्दर्भमा भन्नुपर्दा हाम्रा चाहानमा भन्दा पनि उपभोक्ताहरुको माग र आवश्यकता अुनसार योजना छनौट भएकाले पनि विवाद रहित भएको हो । अझ त्यस्मा पनि भन्ने हो भने कुनै पनि उपभोक्ता समिति गठनको प्रकृयामा हामिले सहजिकरण मात्र गर्छौ तर समितिमा कुन पदमा को वस्ने भनेर उपभोक्ताहरुले नै छनौट गर्ने भएकाले पनि विवाद रहित भएको हो । वडाको नियमित वजेटमा मात्रै भर नपरी विभिन्न संघ, संस्था एवं कार्यालयहरुसँगको समन्वयमा थप सहयोग प्राप्त भएको छ । यसबाट पनि अन्य वडामा भन्दा वढी काम गर्न म सफल भएको छु जस्तो लाग्छ । आगामि दिनहरुमा पनि वडाबासी, राजनीतिक दल, कमलामाई नगरपालिका, कर्मचारी टिम लगायत सवै निकायहरुबाट यहि अपेक्षा राखेको छु ।