• वर्षको ११ महिनासम्म आलटाल गर्दै आपसमा विवाद सिर्जना गरेर विकास निर्माणका कामहरुमा ढिलासुस्ती गर्ने परिपाटी नयाँ होइन । ‘समय छ केको हतार’ भन्दै जनताका समस्या र गुनासाहरुप्रति बेवास्ता गर्ने जनप्रतिनीधिहरुको मनपरितन्त्रले राज गरिरहँदा आखिर सास्ती र समस्या भोग्नुपर्ने जनताले नै हो । वर्षको अन्तिममा आएर भएका बजेटहरु एकैपटक सक्नका निम्ति सकडमा खन्याइएको रकमले खासै सुविधा दिन सक्दैन । र यसले विकासको नाममा वर्षेनी विनास मात्र गरिरहन्छ ।
    विकास हुनका लागि पहिला विनास हुनु सबै अवस्थामा मान्य हुँदैन र त्यो आवस्यक पनि छैन । अझ स्पष्ट रुपमा भन्ने हो भने आर्थिक वर्षको अन्त्यमा मात्र गरिने असारे विकासका लागि गरिएको विनासले यतिवेला जनजिवन थप कष्टकर बनाइरहेको छ । यसको पछिल्लो उदाहरणको रुपमा कमलामाई नगरपालिका वडा नं. ७ र १२ मा गरिएको असारे विकासलाई हेर्न सकिन्छ । तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाको सिमाक्षेत्रहरुमा गरिएको असारे विकासले यस वर्ष पनि यात्रुहरुलाई थप सास्ती भोगाइरहेको छ ।
    अधिकांस क्षेत्र कमलामाई नगरपालिकामा पर्ने भएकाले बिग्रिएका र भत्किएका सवै ठाउँको मर्मत उसैले गर्नुपर्ने भन्दै तीनपाटन गाउँपालिकाले वास्ता नगरेको भन्ने गुनासाहरु तीनपाटनका स्थानीयहरुले बताइरहँदा कमलामाई नगरपालिका भने मौन छ । लगातारको वर्षाका कारण मर्मत गर्न नसकेको भन्ने हो भने बजेट खन्याएको पनि वर्षामा नै हो र सडक विस्तार गर्ने नाउँमा विनासको सुरुवात गरेको पनि वर्षामा नै हो । अधिकांस ग्रामिण सडकमा गरिएको असारे विकासले यात्रुले खोजेजस्तो उपलव्धि दिन सकेको छैन भन्ने कुरामा विमति छैन । ग्रामिण सडकमा गरिने यात्राको वर्तमान अवस्था हेर्ने हो भने त्यो यात्रा नभएर हेर्न लायक एउटा जात्रा जस्तो देखिन्छ । यी यावत विषयहरुमा आलोचना, टिप्पणी तथा आपसमा दोषारोपण गरेर समस्याको समाधान सम्भव छैन । तसर्थ सम्वन्धित दुई स्थानीय तहले आपसी समझदारीमा सडक मर्मत गरेर यात्रुहरुलाई परेको चरम समस्याबाट मुक्ति दिनुपर्छ ।