• सिन्धुली/कोरोना भाइरसबाट लाग्ने रोग कोभिड–१९ का कारण विश्वव्यापी रुपमा फैलिएको महामारीकाले गर्दा देशका प्रायः सबै विद्यालयहरुको पठनपाठन ४ महिना देखि बन्द छ । सरकारले घोषणा गरेको बन्दाबन्दी खुले पनि अधिकांस विद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएकोले नीजि तथा सरकारी विद्यालयहरुमा पठनपाठन सूचारु हुन सकेको छैन ।
    त्यसो त बन्दाबन्दी खुलेको घोषणा गरे पनि सरकारले विद्यालयहरुमा पठनपाठन नियमित सुचारु गर्न मन्त्रालयको सूचना पर्खिन आग्रह गरेको छ । आगामी भदौ १ गतेबाट भर्ना सुरु गर्ने र भदौ १५ गतेबाट पठनपाठन नियमित गर्ने तयारी गरिरहेको शिक्षा मन्त्रालयले देशका कुनै पनि विद्यालयलाई तत्कालकै अवस्थामा पढाइ सन्चालन नगर्न निर्देशन समेत दिएको छ ।
    तर सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.२ बितिजोरले भने स्थानिय तथा संघिय दुवै सरकारको निर्देशन उलंघन गर्दै विद्यालयमा पठनपाठन सूचारु गरिरहेको छ । गाउँपालिकाका अन्य ६ वटा वडाका कुनै पनि विद्यालयमा पढाइ सन्चालन नभएको अवस्थामा वडा नं. २ का विद्यालयहरुमा मात्र पठनपाठन सुरु भएको भन्ने जानकारी पाएपछि गाउँपालिकाले वडा कार्यालयलाई पठनपाठन सन्चालन नगर्न आधिकारीक पत्र समेत पठाएको थियो । तर पालिकाले पठाएको उक्त पत्रलाई बेवास्ता गर्दै वडाले स्थानिय अभिभावक र विद्यालय व्यवस्थापन समितिको समेत आग्रहमा विद्यालय सन्चालन गरेको बताएको छ ।
    त्यसो त गाउँपालिकाले अहिले नै कुनै पनि विद्यालयको पठनपाठन सुरु नगर्न साउन ११ गते आइतबार नै प्रेश विज्ञप्ती जारी गरिसकेको थियो । ‘संघिय तथा स्थानिय सरकारको आग्रह, निर्देशन सबै विषयमा हामीलाई जानकारी हुँदाहुँदै पनि हामीले पढाइ सन्चालन गरेका हौं’ वडा नं. २ का वडा अध्यक्ष दौलत कार्कीले भन्नुभयो ‘यो मेरो मात्र एकल निर्णय हैन, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको समेत सहमतिमा पठनपाठन नियमित गरिएको हो ।’
    अभिभावकहरुले आफ्ना बालबालिका बिग्रन लागेको भनेर पढाइ सन्चालन गर्न भनेपछि उनिहरुकै सहमतिमा पठनपाठन सन्चालन गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । ‘संघिय सरकार र स्थानिय सरकारको निर्देशन भन्दा समुदायको निर्णय ठूलो हो,’ गोलन्जोर गाउँपालिकाका प्रवक्ता समेत रहेका अध्यक्ष कार्कीले भन्नुभयो ‘न संघिय सरकार न स्थानिय सरकार जसले जे निर्देशन दिएपनि म मेरो वडाको विद्यालयमा पठनपाठन बन्द गर्दिन ।’ पढाइ सन्चालन गर्दा कोरोना आउने र पढाइ बन्द गर्दा कोरोना नआउने हैन भन्दै अध्यक्ष कार्कीले वडा कार्यालय र स्थानिय अभिभावक कोरोनाबाट आइपर्ने जोखिमसंग जुध्न तयार रहेको समेत बताउनुभयो ।
    कारोनाको महामारीका कारण पठनपाठन अहिले नै सन्चालन नगर्नु भनेर सरकारले गरेको परिपत्रका आधारमा गाउँपालिकाको शिक्षा शाखाले समेत वडामा पत्र पठाएर पढाइ सन्चालन नगर्न आग्रह गरेको पालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले बताउनुभयो । दाहालले भन्नुभयो ‘सबै वडाले गाउँपालिकाको अनुरोध अनुसार काम गरिरहेका छन् तर २ नंं.वडाले मात्रै पालिकाको अनुरोधलाई बेवास्ता गरिरहेको छ । यसबाट सिंगो वडालाई पर्ने असरबारे वडा कार्यालय नै जवाफदेहि हुनुपर्छ ।’
    गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले पनि संघिय सरकारको निर्देशन तथा अनुरोधलाई स्थानिय सरकारले मान्नुपर्ने बताउनुभयो । वहाँले भन्नुभयो, ‘भदौ १ गतेबाट भर्ना र भदौ १५ गतेबाट पठनपाठन सन्चालन गर्ने भनेर संघिय सरकारले जुन परिपत्र जारी गरेको छ, हामीले त्यसैको आधारमा काम गर्नुपर्छ । हामी नियम विपरीत जान कुनै पनि बहानामा मिल्दैन र जाँदैनौं पनि ।’ ‘एउटै गाउँपालिका भित्र पालिकाको नियमलाई कुनै वडाले मान्ने कुनैले नमान्ने भन्ने हुँदैन’ अध्यक्ष कार्कीले भन्नुभयो ‘भदौ १५ गतेभन्दा अगाडी गोलन्जोर गाउँपालिका भित्रका कुनै पनि विद्यालयमा पढाइ हुँदैन, यदि पढाइ सन्चालन भएको भएपनि तुरुन्तै बन्द गर्नुपर्छ ।’ महामारीले कसैलाई पनि नछाड्ने भन्दै अध्यक्ष कार्कीले वडा नं. २ का विद्यालयहरुमा सन्चालन भएको पठनपाठन कार्य तुरुन्त बन्द गराउन वडा अध्यक्ष दौलत कार्कीलाई आग्रह समेत गर्नुभएको छ ।