• राजनीतिमा सत्ता मोह स्वभाविक मानिन्छ । पद र सत्ता भन्दा बाहेकको राजनीति अपवाद मात्र हो । केही अपवादका पात्र भन्दा बाहेक धेरै झुठ र थोरै सत्य बोल्दै आस्वासनको चुलीसामु जनतालाई मुकदर्शक बनाउनु नेताहरुको पहिलो कर्मभित्र पर्छ भन्दा फरक नपर्ला । त्यसो त यो उनिहरुको गुण पनि हो । अहिले यीनै गुणहरुको ओभर डोज भएको छ–नेकपाका नेता र कार्यकर्ताहरुमा । नेकपाको राजनीति भित्र पनि अर्काे फोहोरी राजनीति छताछुल्ल भइरहेको छ ‘गुट, उपगुट र कित्ताकाटको राजनीति ।’ त्यो पनि सदन देखि सडक सम्मै ।
    केही दिनदेखि नेकपाका नेता तथा कार्यकर्ताहरु आपसमा पौंठाजोरी खेल्दै सदन देखि सडक सम्मै आइपुगेका छन् । सत्ता पक्ष र विपक्षी दलहरुबीचको कटाक्ष सदन र सडकमा हुँदा जनताले सामान्य रुपमा लिन्थे । किनकी यो राजनीतिमा हुन्छ नै । सरकारका काम कारबाहीहरुमा राम्रोको समर्थन संगै आलोचनात्मक सुझाव र विरोध गर्नु प्रतिपक्षको धर्म पनि हो । तर नेपाली राजनीतिमा अहिले यसको ठिक विपरीत भैरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसले राम्रोसंग प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको टिकाटिप्पणीहरु आइरहेको यथार्थ हो । नेकपाको झन्डै दुई तिहाईको सरकार भैरहेका बेला नेकपाभित्रकै नेता तथा कार्यकर्ताहरु प्रतिपक्षको भूमिका निभाइरहेका छन् । उनिहरुको यो भूमिकाको परिणाम उनिहरुले सायदै सोचेका होलान् कि निकट भविष्यमै यसले सिंगाो नेकपालाई नै निभाउन सक्छ भनेर ।
    नेकपाका दुई अध्यक्षहरु मध्ये अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएर सरकारको नेतृत्व संगै पार्टी अध्यक्ष समेत चलाइरहेका छन् । अर्का अध्यक्ष प्रचण्ड आफू अध्यक्ष भएपनि कुनै काम गर्न नपाएको र पार्टीमा आफूले कुनै भूमिका निभाउन नपाएको बताइरहेका छन् । प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र सरकार दुवैको नेतृत्व एक्लैले ओगटेर पार्टीको नीति विपरित एकलौटी राज्य सन्चालन गरिरहेको अध्यक्ष प्रचण्डपक्षधरका नेता तथा कार्यकर्ताहरुको बुझाई छ । प्रधानमन्त्री केपी ओलीका काम कारवाहीहरु र पछिल्ला केही विवादास्पद अभिव्यक्तिहरुका कारण सरकारप्रति जनताको दृष्टिकोण नकारात्मतर्फ गइरहेको भन्दै प्रधानमन्त्रीलाई संयमित भएर आफ्ना काम कारबाही गर्न गराउन र सोचेर मात्र अभिव्यक्तिहरु राख्न नेकपाकै नेता तथा कार्यकर्ताहरुले सुझाव दिइरहेका छन् ।
    प्रधानमन्त्रीले कि पार्टीको सल्लाह सुझावलाई मानेर राज्य सन्चालन गर्नुपर्छ, कि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुईमध्ये एक पद त्याग्नुपर्छ भन्ने विषयमा छलफल तथा बहसहरु भइरहँदा नेता तथा कार्यकर्ताहरुबीचमा भने गुट र कित्ताकाट सहितका असन्तुष्टिहरु सडकमा छताछुल्ल भैरहेका छन् । पार्टीभित्रको विवाद आन्तरिक रुपमै समाधान गर्नुपर्छ भनेर व्यक्तिगत तथा सामूहिक छलफल शिर्षनेताहरुबीचमा चलिरहँदा खान पल्केका र खाइ पल्केका कटौरे कार्यकर्ताहरु ओली पक्ष र प्रचण्ड पक्ष भन्दै सडकमा नाराबाजी गरिरहेका छन् । करिब दुई तिहाइको सरकार नेकपाले नै सन्चालन गरिरहेका बेला सरकारकै पक्षमा भन्दै बहानाबाजिमा सडकमा कार्यकर्ता कुर्लिने अवस्थाको सिर्जना गराउने नेतृत्वप्रति मतदाता तथा कार्यकर्ताहरुले ‘कठै’बाहेक अरु भन्न सक्दैनन् ।
    प्रधानमन्त्रीको प्रवृत्ति ‘राज्य नै म हुँ, म नै राज्य हुँ’ भन्ने शैलीमा देखिएकोले सच्चिएर पार्टीको नीति र निर्णय अनुसार काम गर्न सुझाव स्वरुप सडकमा आएको एक पक्षले भनिरहेको छ भने अर्काे पक्ष भनिरहेको छ ‘अहिले सरकार र पार्टी दुवै केपी ओलीले नै सन्चालन गर्नुपर्छ, ओलीको विकल्प छैन । पाँच वर्ष ओलीले नै शासन गर्नुपर्छ ।’ एक आपसमा दोषारोपण गर्दै सिंगो पार्टीको धज्जी उडाइरहेका नेता तथा कार्यकर्ताहरुको सडकमा देखिएको पौंठाजोरीलाई मौन समर्थन गरिरहने नेतृत्वले यसको परिणामको बारेमा बेलैमा सोच्नुपर्छ । सरकार र एउटा नेतृत्वको समर्थन गर्ने नाउँमा स्वतन्त्र समूहको हवाला दिँदै घरभित्रको विवादले सडक जाम गर्दैमा गुटलाई ‘स्वतन्त्र समूह’ भनेर जनताले विश्वास गर्छन् भन्नु दिवास्वप्न मात्र हुनसक्ला । तसर्थ नेपाल कम्युनिष्ट पार्टीले बेलैमा छलफल र बहसको माध्यमबाट आन्तरिक विवाद समाधान गर्नु मै सिंगो पार्टी तथा कार्यकर्ताको हितमा देखिन्छ । कसैले कसैको पक्ष विपक्षमा सडक फोहोर गर्दैमा समस्याको समाधान सम्भव नहोला ।