• एकदमै कमजोर अवस्थाबाट आफ्नो यात्राको थालनी गरेको हो ‘सिन्धुली अपडेट साप्ताहिक’ ले–यो यथार्थ हो । एउटा स्थानिय रेडियोमा बेतलवि काम गर्ने एउटा सन्चारकर्मीको सपना थियो ‘सिन्धुली अपडेट’ । जतिबेला जिल्लामा पत्रिका छाप्ने प्रेसको संख्या एक हातमा भएका जम्मा औँलाको ६० प्रतिशत पनि थिएनन् । स्थानिय रेडियोमा बेतलवि काम गर्ने एउटा सन्चारकर्मीले प्रेसले भनेजति पैसा तिरेर पत्रिका छाप्ने आँट गर्नु त्यतिबेला ठूलै चूनौति थियो । कसले सस्तोमा छापिदिन्छ भन्दै प्रेस चाहार्दै हिँड्नु पनि त्यतिबेला स्वभाविक हो–गरेको पनि तेइ नै हो ।
    पत्रिकाको आफ्नै कम्प्युटर नहुँदा, सेटिङ् गर्ने कोठा नहुँदा आफूले काम गर्ने सँस्थामै बसेर पत्रिका तयार गरेका दिनहरु कालान्तरसम्म ताजै हुनेछन् । अझ आफ्नो बेतलवि ड्युटी सकेर पत्रिका तयार गर्न आफू काम गर्ने सँस्थाकै सामाग्रीको उपयोग गर्दा लगाइएको वचन र शव्दप्रहार भूल्न कहाँ सकिन्छ र ? ती वचन प्रहारलाई आशिर्वादको रुपमा ग्रहण गरेको कुरा यर्थाथ हो । जसको उपज आज सिन्धुली अपडेट साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको छ । एउटा रेडियोकर्मीको सपना आज एउटा टिमको सपना बनेको छ, हजारौं पाठकको अपेक्षा बनेको छ । पत्रिकालाई थप मजबुत बनाई यहाँसम्म ल्याउन अहिलेसम्म काँध थापिरहने सहकर्मी प्रति कृतज्ञ छौं ।
    सिन्धुली अपडेट साप्ताहिक आजका दिनसम्म आइपुग्दा हामी गर्वका साथ दावा गर्छाैं, यो कुनै व्यक्ति या पार्टीको मुखपत्र बनेको छैन । न कसैलाई खुइल्याउन लागिपरेको छ, न त कसैलाई देवत्वकरण गर्न कुनै शव्द खर्चेको छ । कसैलाई पचाउन कठिन होला यी शव्दहरु तर सत्य यहि हो । भोलिका दिनमा पनि सवैको साथ र सहयोगमा यस्तै कर्मले निरन्तरता पाउनेछन् । सिन्धुली अपडेटको अनलाईन संस्करण sindhulikhabar.com पनि यो वर्ष देखि साथै लिएर आएका छौं । यहाँसम्म आइपुग्दा समाचार लेखेर सहयोग गर्ने कलमजिवी, स्तम्भकारहरु, विज्ञापनदाता, ग्राहकवर्ग र भगवानरुपी पाठकहरुप्रति हार्दिक नमन व्यक्त गर्दर्छौं ।

    प्रकाशक
    तथा
    सिन्धुली अपडेट साप्ताहिक परिवार