• १७ औं राष्ट्रिय धान दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसका अवसरमा तामझामका साथ निकै खर्चिलो रुपमा वर्षेनी विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु गर्ने गरिन्थ्यो । यस वर्ष पनि केहि औपचारिक तथा केहि अनौपचारिक कार्यक्रमहरु सम्पन्न भए ।
    तर यस वर्षको धान दिवसमा गएका वर्षहरुमा जस्तो तामझाम देखिएन । कुनै जिल्लामा कृषि मन्त्री आँफै उपस्थित भएर धान दिवस मनाउन उत्साह थप्ने काम भयो । तर त्यो पनि आलोचनामुक्त भने हुनसकेन । केहि जिल्लामा सामूहिक रोपाइँ भए त केहि जिल्लाका स्थानिय सरकारले किसानहरुलाई विभिन्न किसिमका सहयोग गरे । यस्तै कार्य सिन्धुलीका स्थानिय सरकारले पनि गरेका छन् । केहि गाउँपालिकाहरुले किसानहरुमा उत्साह थप्न सामूहिक रोपाइँ गरे भने कुनै स्थानिय तहले किसानहरुलाई हाते ट्याक्टर उपलव्ध गराए ।
    वास्तवमा यस वर्षको राष्ट्रिय धान दिवस राजनीतिक कलह र आकस्मिक रुपमा भित्रीएको सलह किराको चपेटामा परेको छ । यतिबेला नेपालको राजनीतिक परिवेश सहज रुपमा लिनसकिने अवस्थामा देखिँदैन । शीर्ष भनिने नेताहरु एकआपसमा दोषारोपण गर्दै फ्रन्ट लाइनमै आएका छन् भने आरोप प्रत्यारोपको खेती गर्न उनिहरुलाई असार लागेको प्रष्टै देखिन्छ । प्रतिपक्ष भनिने नेपाली काँग्रेसलाई प्रतिपक्षको भूमिका निभाउन नसकेको आरोप उनिहरुकै पार्टीका नेता तथा कार्यकर्ताहरुले लगाउँदै आएका छन् र यो सत्य हो पनि । सरकारमा रहेका पार्टीका शीर्ष भनिने नेताहरु र सरकार प्रमुख प्रधानमन्त्रीवीचको दोहोरीले यस वर्षको असारे भाकालाई विर्साएको छ ।
    एकातिर राजनीतिक कलह चरमचुलीमा पुगेका बेला किसानहरुलाई ककरक्कै पार्न एक्कासी सलह किरा नेपाल प्रवेश ग¥यो । यतिबेला नेपालका केहि जिल्लामा सलह किराले उपद्रो मच्चाइरहेको छ । त्यतिमात्र हैन लगाएको बालीमा पसेर बाली नष्ट गर्न सुरु गरेको छ । किससानहरु यतिबेला धान रोप्ने कि सलहबाट बाली जोगाउने भन्ने समस्या खेपीरहेका छन् । त्यसो त केहि दिन अघि मात्रै यस वर्षलाई सहलको संकट ट¥यो भनेर मन्त्रीकै बोली बाहिर नआएको हैन । अहिले त्यो गलत सावित भयो । धान दिवस मनाउने देश दौडाहामा लागिरहेका कृषि मन्त्रीले ठाउँ ठाउँमा गएर ‘सलह किरा भगाउन अमेरिकी संगित उपयुक्त हुन्छ’ भनेर दिनुभएको अभिव्यक्ति पनि यतिवेला चर्चामै छ । किसानहरु भनिरहेका छन् ‘असारे भाका हराउँदै जाँदा अमेरीकी संगित कहाँ खोजौँ ?’