• नविन श्रेष्ठ
    सिन्धुली/देवीकुमारी ठकुरी ६२ वर्ष र उहाँको श्रीमान् गुण्डबहादुर ठकुरी ६७ वर्ष । ठकुरी परिवार विहान ४ वजे उठ्छन र घर भन्दा करिब ४ सय मिटर पर रहेको जुनार बगैँचामा पुग्छन् । समथर जमिन देख्न मुस्किल हुने ठकुरी दम्पत्तिको बगैँचा ढुङ्गाको कापैकापको बीचमा छ । ठूलाठूला ढुंगा र पहराको बीचमा उनिहरुकै परिश्रमको उपज सुन्दर जुनार बगैँचामा यतिवेला हरियाली लहराउँदै चिचिला जुनार हुर्किंदैछन् ।
    अधिकांश समय बगैँचामै विताउने ठकुरी दम्पतिले व्यवसायिक रुपमा जुनार खेती गरेको झण्डै ४५ वर्ष भैसकेको छ । तीनकन्याको पहिलो जुनार कृषक भनेर परिचीत ठकुरी दम्पतिले वि.संं २०३२ साल देखि नै जुनार खेति सुरु गरेका हुन् । यतिका समय जुनार खेतीमै पसिना खन्याएका उनिहरुले खेर गैरहेको भिरालो बारि समेत बाँझो नराख्ने निर्णय गरे । र २०७१ सालबाट उनिहरुले ढुंगैढुंगा भएको भिरालो जमिन सखार्न थाले । जसको उपलव्धि अहिले तेइ ढुंगाको कापमा लगाएको जुनारमा चिचिला लाग्न सुरु गरेको छ । ढुंगाको कापमा माटो भरेर लगाएको जुनार हरियै भएर फल्न थालेपछि यतिवेला ठकुरी दम्पति निकै गद्गद देखिन्छन् ।


    पाँच सन्तानकी आमा देवीकुमारीले ६२ वर्षको उमेरमा गर्ने श्रममा पनि कुनै फरक छैन–जसरी तन्नेरीमा गर्थिन् । यदि त्यस्तो फरक हुन्थ्योभ भने ढुंगाको कापमा जुनार फल्ने कुरा सपना मात्रै सिद्ध हुन्थ्यो । विश्वासका साथ देवकुमारी भन्नुहुन्छ, “श्रम गरे पहरामा पनि सुन फल्छ, मेरो बगैँचामा अहिले फलेको जुनार हैन सुन हो ।” गोलञ्जोर गाउँपालिका वडा नं.४ तीनकन्यामा समथर गराहरुसंगै मलिलो माटोमा जुनार बगैँचा हुनु त स्वभाविक नै हो । तर भिरालो ढुङ्गा सहित पहरामा जुनारको बगैँचा देख्दा जो–कोहिलाई पनि अचम्म लाग्छ । ठकुरी परिवारले यहि पहरामा करिब ५ लाखको जुनार फलाईसकेका छन् ।
    आफ्नो बारिको जुनार बगँैचा बुढो भएर आम्दानि घट्न थाले पछि २०७१ सालमा २ लाखमा ४ रोपनी खरपाखो किनेर जुनार बगैँचा वनाएको देवीकुमारीको भनाई छ । “आफ्नो बारीको जुनारको बोट बुढो भएर आम्दानी घट्न थाल्यो, समथर मलिलो जग्गा महंगो पर्छ, किन्न सकिँदैन । बाँझो बसेको खरपाखो किनेर खनजोत, मलजल गर्दै खनिखोस्री जुनारका बोट लगाउन सुरु गरेका हौँ” देवकुमारीले भन्नुभयो ।
    बगँैचाबाट तीन वर्ष देखि आम्दानी हुनथालेको र हाल सम्म ५ लाख रुपैयाँभन्दा बढीको जुनार विक्री गरेको देवीकुमारीको भनाई छ । “यो पाखोमा पनि जुनार बगैँचा हुन्छ भनेर कसैले पत्याएका थिएनन्, हामीले पसिना पोख्यौँ र सफल भयौँ” देवीकुमारीले भन्नुभयो । यो वर्ष पनि नयाँ दाना लाग्न थालिसकेका छन् । दुई अढाई लाखको जुनार फल्ने अनुमान गरेका छन् ठकुरी दम्पतिले । नयाँ पुरानो दुवै जुनार बगैँचाबाट बार्षिक १० देखि १२ लाख आम्दानी गर्ने गरेको देवकुमारीका श्रीमान गुण्डबहादुरको भनाई छ । नयाँ बगैँचामा उनिहरुले करिब ३ सय विरुवाहरु लगाएका छन् । यसबाट पनि केहि समयमा राम्रै आम्दानी हुने उनिहरुको अपेक्षा छ । नयाँ बगैँचामा पानीको अभाव थियो । ५ वर्ष देखि करिब ४ सय मिटर पर रहेको खानेपानीको धाराबाट पाईप लगाएर सिँचाई गर्नुपथ्र्याे उनिहरुले ।


    अहिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जुनार सुपरजोनद्वारा ५० प्रतिशत अनुदानमा सिँचाईको लागि पोखरी बनेपछि उनिहरुलाई निकै सजिलो भएको छ । त्यसो त तीनकन्यामा अहिले जुनार सुपरजोन कार्यक्रम अन्तरगत किसानको ५० प्रतिशत र जुनार सुपरजोन कार्यक्रमको ५० प्रतिशत आर्थिक लगानीमा सिँचाइका लागि पोखरी निर्माण भैरहेका छन् । सोही ५० प्रतिशत अनुदानमा ठकुरी दम्पतिले पनि पोखरी निर्माण गरेर जुनारका बिरुवा हरिया बनाइरहेका छन् । जुनार सुपरजोन कार्यक्रम अन्रतगत गोलन्जोर गाउँपालिका–४ तीनकन्याका जुनार किसानहरुका लािग आधा दर्जन पोखरी निर्माण भैरहेका छन् । त्यसमध्ये कुनै निर्माण सम्पन्न भैसकेका छन् भने कुनै निर्माणाधिन अवस्थामा छन् ।