सहायक सामग्री विलासिता होइन, बाँच्ने आधार हो
मैले सार्वजनिक गरेँ मेरो वास्तविकता, मेरो पहिचान । म यति सुन्दर देखिनुको अमूल्य अर्थ यही नै हो । मेरो सहायक सामग्री ।
मेरो अंग । मेरो पहिचान । मेरो आत्मविश्वास । आत्मनिर्भर र मेरो भविष्य निर्धारणको आधार । मेरो सपना, गन्तव्य अनि सफलता यही ।
मेरो जीवनको मूल्यवान अंग मेरो सहायक सामग्री । मेरो क्यालिफर मेरो स्कुटर । जब सहायक सामाग्रीको प्रयोगबाट नै म मेरो खुट्टामा उभिन सक्छु । मेरो घरको ढोकाबाट बाहिर निस्कन सक्छु । अनि समुदाय सम्म पुग्न सक्छु । समुदायका अन्य नागरिक सरह जिवनयापनमा सहभागि बन्न सक्छु । मेरो पहिलो सहायक सामग्री मेरो क्यालिफर । जसको सहयोगले म उठ्न सक्छु । दोस्रो मेरो स्कुटर । जसको सहयोगले म मेरो गन्तव्य सम्म पुग्न सक्छु । त्यसैले यी दुवै मेरो जीवनको अभिन्न अंगहरु हुन् । यो दुवै सहायक सामग्रीको सहयोगले मेरो जीवनको हरेक गन्तव्य पूरा गर्नसक्छु र सफल हुन्छु ।
“सहायक सामग्रीले जीवनलाई सीमित होइन, सक्षम बनाउँछ ।” विश्व सहायक प्रबिधि दिवसको सम्पूर्णमा शुभकामना ११
अपाङ्गता भएका व्यक्तिहरुको पहिलो अपरिहार्य कुरा नै सहायक सामग्री हो । तर यहाँ मानिसहरूले यसलाई सुक्ष्म रुपमा लिएको पाईन्छ । अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवन सहज बनाउन विभिन्न प्रकारका साहायक सामग्री प्रयोग गर्छन् । यस्ता सहायक सामग्री अत्यन्त महव्वपूर्ण हुन्छन् । यी सामग्रीले नै गर्दा हिँडडुल, पढाइ, लेखाइ, सुन्न, बोल्न तथा काम गर्न सहयोग पुग्छ ।
ह्विलचेयर, बैसाखी, सेतो छडी, श्रवणयन्त्र, कृत्रिम हातखुट्टा, ब्रेल पुस्तक, वाकर आदि प्रमुख साहायक सामग्री हुन् । यस्ता सामग्रीले व्यक्तिको आत्मनिर्भरता बढाउँछ र शिक्षा, सञ्चार तथा कामकाजमा सहयोग पु¥याउँछ । त्यस्तै रोजगारी तथा सामाजिक सहभागितामा सहजता ल्याउँछ । साहायक सामग्रीको सही प्रयोगले आत्मविश्वास पनि वृद्धि हुन्छ । सबै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसार गुणस्तरीय साहायक सामग्री उपलब्ध गराउनु समाज र राज्यको महत्वपूर्ण जिम्मेवारी हो । तर राज्य र सरोकारवाला निकाय यो विषयमा संवेदनशिल भएको देखिँदैन ।
अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्रीले उनीहरूको दैनिक जीवनलाई सहज, सुरक्षित र आत्मनिर्भर बनाउन ठूलो भूमिका खेल्छ । सहायक सामग्रीको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरू समाजमा सक्रिय रूपमा सहभागि हुन सक्षम हुन्छन् । यसले आत्मविश्वास बढाउने, अवसरमा पहुँच दिलाउने र समान अधिकार सुनिश्चित गर्न मद्दत गर्छ । शिक्षा, रोजगारी तथा सामाजिक जीवनमा उनिहरूको सहभागिता वृद्धि हुनुमा सहायक सामग्रीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले आवश्यकता अनुसार गुणस्तरीय सहायक सामग्री उपलब्ध गराउनु सरोकारवालाहरु सबैको दायित्व हो ।
अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामग्री प्रति आम मानिसहरूको धारणा मिश्रित रहेको पाइन्छ । धेरै मानिसहरूले ह्विलचेयर, बैसाखी, श्रवणयन्त्र, सेतो छडीजस्ता सामग्रीलाई आवश्यक सहयोगी साधनका रूपमा बुझ्न थालेका छन् । यस्ता सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर, सक्रिय र सक्षम बनाउन मद्दत गर्छ भन्ने सकारात्मक सोच त खासै देखिदैन । तर पछिल्लो अवस्थामा भने केहिहदसम्म बिचार विस्तार हुँदैगएको देखिन्छ । जुन सकारात्मक पक्ष हो ।
तर मानिसहरुले एउटा सहायक सामग्रीलाई तरकारीको भाउ जस्तै गरि तोलाभाउ गरेको र बाटोमा सहजै पाईने जसरी हेर्छन् । हियाएर बोल्छ्न । तर वास्तविकता त्यो होइन । मेरो सहायक सामाग्री क्यालिफर र स्कुटर हुन् । जसको सहयोगले म मेरो गन्तव्यमा पुग्न सक्छु । तर केही मानिसहरूमा अझै पनि गलत धारणा र विभेदपूर्ण सोच पाइन्छ । कतिपयले सहायक सामग्री प्रयोग गर्ने व्यक्तिलाई कमजोर वा अरूमाथि निर्भर ठान्ने गर्छन् । यो गलत छ ।
समाजमा सही बुझाइ विकास गर्न जनचेतना, समावेशी शिक्षा र सम्मानजनक व्यवहार आवश्यक छ । सहायक सामग्री कमजोरीको चिन्ह होइन, समान अवसर र स्वतन्त्र जीवन जिउन सहयोग गर्ने महत्वपूर्ण साधन हो । नेपालको संविधान र विभिन्न कानूनी नीतिहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री प्राप्त गर्ने अधिकार सुनिश्चित गरेका छन् । नेपालको संविधानले सबै नागरिकलाई समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा सामाजिक न्यायको हक प्रदान गरेको छ ।
विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ ले शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँचयोग्यता र सहायक सामग्रीको व्यवस्था गर्न राज्यलाई जिम्मेवार बनाएको छ । यस ऐनअनुसार आवश्यकता अनुसार ह्विलचेयर, श्रवणयन्त्र, सेतो छडी, ब्रेल सामग्री, कृत्रिम अंगहरु आदि उपलब्ध गराउने नीति लिइएको छ ।
त्यसैगरी युनाइटेड नेसनको “अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धि” मा पनि नेपाल पक्ष राष्ट्र भएकाले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, समान अवसर र सहायक सामग्रीको अधिकारलाई मान्यता दिएको छ ।
यी कानून र नीतिहरूको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर, सम्मानित र समाजमा समान सहभागितायुक्त जीवन प्रदान गर्नु हो । सहायक सामग्री स् विलासिता होइन, बाँच्ने आधार हुन् । अपाङ्गता भएका व्यक्तिका लागि ह्विलचेयर, बैसाखी वा क्यालिफर जस्ता सहायक सामग्री राज्यसँग भिख मागे जसरी माग्ने वस्तु होइन । यी त बाँच्ने आधार र अधिकार हुन् । तर, अहिलेको चुनौती गुणस्तरको छ । गुणस्तरहीन सामग्रीले जीवन सहज होइन, जोखिम थप्छन् ।
तसर्थः अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित र टिकाउ सामग्रीको मात्र उत्पादन, वितरण गर्ने व्यवस्था गरियोस् । कमसल र डुव्लिकेट सहायक सामग्री वितरणमा रोक लगाउनुपर्छ । सबैको लागि सर्वसुलभ पहुँच हुने व्यवस्था गरियोस् । आर्थिक अभावमा कोही पनि वञ्चित नहोऊन् । राज्यले निःशुल्क व्यवस्था गरोस् । सहायक सामग्री उत्पादन तथा वितरणमा समयसापेक्ष नीति र आधुनिक प्रविधियुक्त सामग्री वितरण हुने व्यवस्था बनोस् ।
यो बजेटले सहायक सामग्रीलाई अनुदान नभै मानव अधिकारका रूपमा स्वीकारोस् । समावेशी समाजको आधार बनोस् । “सहायक सामग्रीले जीवनलाई सीमित होइन, सक्षम बनाउँछ ।” अपांगता भएका व्यक्तिहरुको अधिकारको संरक्षण गर्दै वर्तमान सरकारले उनिहरुको सहायक सामाग्रीको सहज उपलव्धताप्रति प्रथम दृष्टि दिन सकोस् ।



