प्रहरी हिरासतबाट भागेका विक आफ्नै घरबाट पक्राउ
सिन्धुली/सिन्धुली प्रहरीले झापाको प्रहरी हिरासतबाट फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
कमलामाई नगरपालिका-१० भिमानका २६ वर्षीय धनबहादुर विकलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीको अनुसार उनलाई बिहिबार दिउँसो करिब २ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
विक झापाको इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा थुनामा रहेका थिए । गत वर्ष भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’का क्रममा उनी प्रहरी हिरासतबाट फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
हिरासतबाट भागेपछि प्रहरीले उनको खोजी गर्दै आएको थियो । खोजीका क्रममा उनी भिमानस्थित आफ्नै घरमा रहेको खुलेपछि प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई हाल इलाका प्रहरी कार्यालय भिमानको हिरासतमा राखिएको छ भने उनी माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


