मकै पोल्ने कल्पनाको कथा
अहिले हरियो मकैको सिजन भएकाले गर्दा उनको व्यापार पनि पोलेको मकै बेच्ने नै हो। आजभोलि उनी कहिले मालपोत कार्यालयको छेउमा बसेर मकै बेच्छिन् भने कहिले जिल्ला प्रशासन कार्यालयको छेउमा बसेर बेचीरहेकी हुन्छिन्। दिनमा एक बोरा जस्तो मकै बेच्ने गरेको कल्पना सुनाउँछिन् । तर हाटबजारमा भने अन्य दिनमा भन्दा केहिमात्रामा धेरै व्यापार हुने उनको भनाई छ। पानी र हावाहुरीको कारणले गर्दा बिगत दुई महिना देखी सोचेअनुरुपको व्यापार नभएको तितो भोगाई उनले सुनाइन्। गत वर्ष अहिलेको सिजनमा दैनीक दुई बोरा जस्तो बिक्रि हुने मकै अहिले पानी र हावाहुरुको कारणले गर्दा एक बोरा बेच्न पनी धाउधाउ भईरहेको उनले बताइन् ।
“पानी र हावाहुरीको कारणले गर्दा निकै समस्या हुन्छ । प्लास्टिक ओढाएर सामानहरु राख्छु । कहिले त सामान जोगाउँदा आफू पनि पानीमा भिज्नुपर्छ” उनले भनिन् । अहिले कल्पनाले पोलेको मकै बेचेर दिनमा ३ सय ५० देखी ५ सयको रुपैयाँसम्मको व्यापार गरीरहेकी छिन् । तर यो व्यापार अहिले उनको परिवार पाल्न पर्याप्त भने छैन।
कल्पनाको परीवारमा ४ जना छन् । उनका श्रीमान, एक छोरा र एक छोरी । “छोरी शारीरिक अपाङ्ग छिन् श्रीमानले पनि खासै वास्ता गर्नुहुन्न। सिन्धुलीमाढीमा छोराछोरीको पढाईमा सहजता होस् भनेर बसेको पनि १० वर्ष जस्तो भयो” उनले भनिन् “यस्तै व्यापार गरेर दिनमा जती व्यापार हुन्छ साँवा राखेर आएको थोरै फाइदाबाट छोराछोरीको पढाई र कोठाभाडा तिर्छु । अहिले त कोठाभाडा तिर्न पनि निकै धाउधाउ भईरहेको छ।”
आफू जस्तालाई सरकारले एक बोरा चामलमात्र दिए पनि निकै राहत मिल्ने कल्पना बताउँछिन् । स्थानीय सरकारले पहिचान गरेर सक्ने र मिल्नेजती सहयोग गरिदिए आफूलाई परिवार चलाउन निकै सहज हुने उनको भनाई छ । छोराछोरी सानै भएकाले उनिहरुको लागि खर्च जुटाउन आफूलाई निकै धाउधाउ भैरहेको उनको गुनासो छ।
“मकै पोल्नेको मन पनि पोल्छ भन्ने कुरा सम्पन्न जीवन भोग्नेहरुले बुझ्न नचाहाने कल्पनाको अनुभव छ। “जति सक्छु, जहिलेसम्म सक्छु यिनै सन्तानको लागि यही व्यवसाय गर्छु” उनले थकित मुद्रामा भनिन् “आसा छ, कोहि नहुनेहरुको भगवान हुन्छन् भन्छन् । मेरा पनि होलान् नि।”



