• सिन्धुली अस्पताल यहाँको सबै भन्दा ठूलो स्वास्थ्य संस्था हो । अहिले विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । यस्तो अवस्थामा सिन्धुली अस्पताल सिन्धुलीवासीका लागि स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वासको धरोहर हो । अस्पतालको नेतृत्वको हिसाबले सिन्धुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पोख्रेललाई यतिवेला ठूलो जिम्मेवारी छ । अस्पतालको विकास तथा सेवा प्रवाहमा अहोरात्र खटिरहनु भएको छ अध्यक्ष पाख्रेल । प्रस्तुत छ, अध्यक्ष पोख्रेलसँग अस्पतालको आगामी योजना तथा कोरोना महामारी नियन्त्रणका लागि भएको तयारीका विषयमा सिन्धुली अपडेट/सिन्धुली खबर डटकमका लागि नविन श्रेष्ठले लिनु भएको अन्तरवार्ताको सम्पादित अंश–

    तपाईं सिन्धुली अस्पताल विकास समितिको अध्यक्ष हुनु भएको कति भयो ? र तपाई अध्यक्ष भएपछि अस्पतालमा के के विकास भए ?
    – म जिल्ला अस्पताल विकास समितिको अध्यक्ष भएको १७ महिना भयो । अहिलेसम्म देखिनेखालको त्यस्तो ठूलो विकास र परिवर्तन त भएको छैन । ठूलो परिवर्तन भने पनि जे भने पनि यहाँ गाईनो डाक्टर नभएर यहाँका गर्भवती महिलाहरु प्रसुतिका लागि काठमाण्डौं जानुपर्ने वातावरण थियो । अहिले त्यसको अन्त्यको लागि पहल गरियो । हामीले नेपाल सरकारलाई घचघच्याएर काठमाण्डौबाट एमडिजिपी ल्यायौं, प्रदेश सरकारले पनि एउटा डाक्टर उपलब्ध गरायो । अहिले सबै खाले प्रसुतिको सुविधा छ । अहिले यहाँ एपेन्डीसाईडको उपचार सुविधा छ । पहिला आफूबाट नै विश्वास दिलाउनु पर्छ । मैले आफ्नो बुहारीको एपेन्डीसाईडको अप्रेसन गरेर सुरुवात गरें । अहिले सम्म ५/६ जनाले सुविधा लिईसकेका छन् ।
    अस्पतालमा मेरो मात्र पहल हैन । हामीले त व्यवस्थापकीय जिम्मेवारी वहन गर्ने हो । आम जिल्लावासीको चासोको विषय हो सिन्धुली अस्पताल । अहिले प्रदेश माननीयहरुको पहलमा बागमती प्रदेश सरकारले १०० वेडको नमूना अस्पतालन वनाउने नीति तथा कार्यक्रममा राखेको छ । विश्वमा कोभिड– १९ को माहामारी आईसकेपछि आईसियुको लागि व्यवस्थापन गरिरहेका छौं । हामीसँग पर्याप्त भवन भएन । भएका भवनहरुलाई व्यवस्थापन गरेर प्रयोग गरिरहेका छौं । बच्चाको लागि एनआईसियु र तीन वार्डको आईसियु तयारी गरिरहेका छौं । यो पनि ठूलो उपलब्धि हो । अर्को कुरा बिरामीले विमाको औंषधि नपाएर समस्या झेलिरहेको अवस्थामा त्यो समस्याको न्यूनिकरण गरिरहेका छौं । १२ सय औंषधि मध्ये १२ सय नै औषधि त उपलब्ध नहुन सक्छ तर पनि यो महामारीको वेला पनि बार मिलाएर अतिआवश्यकीय औषधि उपलब्ध गराईरहेका छौं । नियमित औषधि सेवन गर्नेहरुका लागि अहिले समस्या छैन । निशुल्क औषधिको भर्खर टेण्डर भएको छ । जम्मा १ सय ३१ प्रकारका औषधि किन्नु पर्नेमा करिब ६० प्रकारको औषधि त मौज्दात नै छ । यसले साउन मसान्त सम्मलाई नै पुग्छ । अरु औषधिको लागि टेण्डर गरेका छौं । अब १०/१२ दिनमा त्यो औषधि पनि आईपुग्छ । हामीसँग पर्याप्त औषधि छ तर मानिस मेडिकल जान्छन् । हामीसँग नेपाल सरकारले तोकेका र सोहि मापदण्ड अनुसारका महंगा औषधि पनि छन् । गुणस्तरीय औषधिहरु छन् । नपुग औषधि चाँडै आपूर्ति गर्न लागिरहेका छौं ।
    सिन्धुली अस्पतालमा अहिले १६ जना डाक्टर, २२ जना स्टाफ नर्स हुनुहुन्छ । अझै पनि दरबन्दि अनुसारका विशेषज्ञ सबै छैनन् । हामीसँग सर्जन हुनुहुन्छ । गाईनो नै नियमित बस्ने हुनु हुन्न तर पनि आधारभुत तहको स्वास्थ्य उपचार चै उपलब्ध गराईरहेका छौं । पूरै सुधार हुन त सबै खालका विशेषज्ञ सेवा दिनुपर्छ । त्यो अहिले दिन सकिरहेका छैनौं । मैले नै पहल गरेर अहिले नगरपालिकाले थाईराइडको परिक्षण गर्ने मेसिन खरिदको प्रक्रिया अगाडी वढाई सकिएको छ । त्यो मेसिन आएपछि १७ मिनेटमा नै थाईराइडको रिपोर्ट आउँछ । हामीसँग अल्ट्रासाउण्डको मेसिन पनि छ तर त्यो मेशिनले सामान्य इको पनि नहुने भएकोले मुटुको विरामी काठमाण्डौं जनुपर्ने समस्या छ । त्यसको लागि पनि हामीले टेण्डर गरेका छौं । एयरपोर्टमा आएर सामान बसेको छ । लकडाउनका कारण उताबाट कागजपत्र नआईदिएको हुनाले ल्याउन सकेको छैनौं ।
    अर्को कुरा यो अस्पतालको भवन पहिला नै बनेको भए सिन्धुलीवासीले राम्रै सेवा सुविधा पाउने थिए । भवन अभाव कै कारण धेरै सुविधा दिन सकिरहेका छैनौं । गत वर्ष नै ३८ करोडको ठेक्का लागि सकेको छ । अहिले लकडाउनको कारण काम हुन सकिरहेको छैन । अबको २ अढाई वर्षमा यहाँ हेर्न लायकको भवन बन्छ । यो पनि सिन्धुली अस्पतालको उपलव्धि नै हो ।


    सिन्धुली अस्पतालमा कार्यरत डाक्टर तथा स्टाफनर्सहरू

    कोरोना महामारीलाई नियन्त्रण गर्न सिन्धुली अस्पतालले कस्तो तयारी गरिरहेको छ ?
    – हामीसँग १४ ओटा आइसोलेससन वेड छन् । त्यो सामान्यतया मापदण्ड अनुसारकै छ । डब्लुएचओको मापदण्ड अनुसार प्रत्येक वेड छुट्टाछुट्टै कोठामा एटेच ट्वाईलेट हुनुपर्छ । त्यसको लागि त हामीसंग भवन अभाव छ । तथापि सामान्य मापदण्ड पूरा गरेर आईसोलेसन निर्माण गरेका छौं । सबैमा अक्सिजन जोडेका छौं । तपाईको सञ्चारमाध्यमबाट के कुरा प्रष्ट पार्न चाहान्छौं भने पब्लिक सेक्टरको स्वास्थ्यको जिम्मेवारी भनेको स्वास्थ्य कार्यालयको हो । हाम्रो अस्पतालको काम भनेको अस्पतालमा सेवा लिन आउने विरामीमा कोरोनासँग मिल्दो जुल्दो लक्ष्यण देखियो भने उनीहरुको आरडिटि परिक्षण गर्ने, पिसिआर परिक्षणको लागि स्वाव संकलन गर्ने र तिनीहरुलाई आईसोलेसनमा राख्ने काम हो । तर पनि सामाजिक उत्तरदायित्व भएकोले र भिटिएम झिक्ने तालिम प्राप्त जनशक्ति हामीकोमा मात्र भएकोले हामीले सहयोग गरिरहेका छौं । हाल सम्म ९७ जनाको भिटिएम संकलन गरेर पिसिआर परिक्षणको लागि पठाएका थियौं । उनिहरु सबैको रिपोर्ट पनि नेगेटिभ आईसकेको छ । हाल सम्म सिन्धुलीमा कोरोना पोजेटिभको अवस्था सुन्य नै हो । यो सिन्धुलीबासीका लागि खुसीको कुरा हो । यो सबै हामी सबैको सजकताले हो । यो सिन्धुली अस्पताल एक्लैले गरेर होईन । हामीले पहिला हात धुने बानीको विकास गराएका थियौं । हामीले भौतिक दुरी, सामाजिक दुरी कायम ग¥यौँ भने पनि संक्रमण हुनबाट बच्न सकिन्छ । यो अझै कति समय जानसक्छ भन्ने यकिन छैन । तसर्थ सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै अहिलेको मुख्य उपचार हो ।
    सबै स्वास्थ्य संस्थाहरु कोरोना महामारी नियन्त्रणमै केन्द्रित रहिरहेको अवस्थामा अन्य रोगीहरुले सेवा पाईरहेका छैनन्, यसलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
    –अहिले हाम्रो ओपिडि बन्द छ । तथापि इमरजेन्सि मार्फत सेवा उपलब्ध गराईरहेका छौं । बजार लकडाउन खुकुलो भए पछि ओपिडि पनि संचालन गर्ने तयारी छ । कोरोनाका कारण अन्य रोगका विरामीले उपचार नपाउने समस्या सिर्जना भएको छ । त्यो कुरा हामीले महसुस गरेका छौं । यो समस्याको समाधान पनि खोजि रहेका छौं । बिमा मार्फत नियमित औषधि सेवन गर्ने विरामीको सेवा रोकेका छैनौं । डेलिभरि निरन्तर सञ्चालनमा छ । अन्य सबै सेवाहरु निरन्तर छन् । ओपिडी सेवा पनि भिडलाई व्यवस्थित गरेर सञ्चालन गर्ने योजनामा छौं । तथापि ओपिडि सञ्चालन नभए पनि निर्धक्कसाथ आए हुन्छ सबै खालका उपचार हुन्छ । केहि गुनासो आएको छ । दैनिक ३/४ सय विरामी उपचार हुने अस्पतालमा एक डेढ सयको उपचार भईरहँदा केहि गुनासो आउनु स्वभाविक हो । मेडिकलहरु पनि बन्द भएको अवस्थामा एउटा साहारा भनेको सिन्धुली अस्पताल हो । त्यो पनि भएन भने त समस्या हुन्छ । केहि कमीकमजोरी छन् । तीनको छिट्टै सामाधान पनि गरिन्छ ।


    सिन्धुली अस्पतालमा एपेण्डीसाइडकाे अप्रेशन गरिदै ।

    सिन्धुली अस्पताल व्यवस्थापनले सूचना लुकाउने गरेको गुनासो आईरहेको छ नि ?
    – हामीले सूचना लुकाएका छैनौं । यो भन्दा अगाडी अस्पताल व्यवस्थापन समितिमा मोलमोलाईमा काम गर्ने गरिन्थ्यो । मैले अहिले प्रत्येक सामाग्रिको टेण्डर गरिदिएको छुं । हामीले प्रत्यक्ष खरिद गर्न पाउने सामानको पनि टेण्डर गरिदिएका छौं । जहाँसम्म आरडिटि छ कि छैन, भिटिएम छ कि छैन त्यो पनि लुकायो भन्ने बजार चर्चा सुनिन्छ । हामीलाई प्रेदेश सरकारले २ सय ओटा अस्पतालको नाममा भिटिएम पठाएको हो । अरु स्वास्थ्य कार्यालयमा आएको हो । त्यस मध्ये ६९ ओटा आरडिटि छ । अदालतले थुनुवालाई अनिवार्य आरडिटि परिक्षण गर्नुपर्ने व्यवस्था छ भनेर २० वटा लगेको छ । अरु ५/७ ओटा भिटिएम आपतकालिन अवस्थामा प्रयोग गर्न राखिएको छ । सूचना लुकाउने कुरा नै छैन । यसपालि साउन पन्ध्रसम्म सार्वजनिक सुनुवाई गर्छौं । अस्पतालको आम्दानी खर्च सार्वजनिक गर्छाैं । प्रश्न उठ्ला अध्यक्ष विहान देखि नै खट्छ यसले केहि सेवा सुविधा लिएको छ कि ? सबैकुरा सर्वाजनिक गरिदिन्छौं । सामाजिक परिक्षण गरेर सार्वजनिक गरिदिन्छु । यो सार्वजनिक सम्पत्ति हो, सूचना लुकाउनुपर्ने आवस्यकता छैन । हामीले एकद्वार प्रणालीमार्फत खर्च गरेका छौं । सहयोग प्राप्त प्रत्येक रकम सार्वजनिक गरेका छौं । कसैको पैसा पनि व्यक्तिको हातमा लिएका छैनौं । खातामा जम्मा गरेका छौं र निर्णय गरेर खर्च गरेका छौं ।
    स्वाव परिक्षणको लागि ल्याव ल्याउने कुरा कहाँ पुग्यो ? सिन्धुलीमा नै ल्याव आउछ ?
    – प्रदेश सरकारले प्रदेश भरि ३ स्थानमा स्वाव परिक्षणको ल्याव सञ्चालन गर्ने योजना अनुरुप सिन्धुली अस्पतालमा पनि प्रस्ताव आएको थियो । हाम्रो समस्या भनेको भवनको हो । ल्याव संचालन गर्न उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । यो भाईरस परिक्षणको कुरा हो, एकान्त स्थान चाहिन्छ । बिजुली देखि लिएर अन्य सुविधा पनि जडान हुनुपर्ने रहेछ । पिसिआर परिक्षणमा कोरोनाको मात्र परिक्षण हुने होईन, दादुरा रुवेला, झाडापखला लगाएत रोगको पनि परिक्षण हुने हो । सबैले भने ‘घर किन नपाउनु ?’ तर घर पाईएन । त्यसैले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा केहि दिन अघि बैठक बसेर अहिले क्वारेन्टीन सञ्चालन भई रहेको भू–संरक्षणको कार्यालयमा ल्याव सञ्चालन गर्ने निर्णय गरेर पठाएका छौं ।
    बागमति प्रदेश सरकारको नीति तथा कार्यक्रममा सिन्धुली अस्पताललाई एक सय वेड सहितको नमूना अस्पतालमा विकास गर्ने भनिएको छ, यो कहिले सम्म बन्छ ?
    –पहिलो कुरा त हाम्रो भवन छैन सय वेड सञ्चालन गर्न । अव सय वेडको अस्पताल सञ्चालनको लागि भवन वन्छ । दरबन्दी सृजना हुन्छ । इमेरजेन्सि सहित सय वेडको सेवा त सुचारु हुन्छ तर सय वेड भनेपछि त नाक, कान, घाँटी, साईक्याट्रिक सहित सबै खालको सेवा सुचारु गर्नु पर्छ । यो भनेको विशिष्टिकृत सेवा हो । सोही खालको दरबन्दी सृजना गर्नुपर्ने हुन्छ । भबन बन्न नै दुई अढाई वर्ष लाग्छ । भवन बन्न समय लाग्छ भन्दैमा सेवा बन्द हुने त होईन तर जब पूर्ण संरचना बन्छ अनिमात्र सेवा सुचारु हुन्छ । सबै ल्याबहरु व्यवस्थित हुन समय लाग्छ तर निरास हुनुपर्ने अवस्था छैन । प्रकृया अगाडी बढेको छ । तपार्इं हामी सबैको साथ सहयोगमा यो चाँडै सुविधा सम्पन्न अस्पताल बन्छ भन्नेमा कुनै शंका नगर्दा हुन्छ ।
    सिन्धुली अस्पतालले आफ्नो जग्गा पनि सबै प्रयोग गर्न पाएको छैन । सिन्धुली अस्पताललाई जग्गा अभाव छ भन्नु भएको थियो । अस्पतालको खास जग्गा कति हो र कति आवश्यक पर्छ ?
    –सिन्धुली अस्पतालको लालपुर्जामा १ विघा १६ कठ्ठा जग्गा छ । अगाडी सटर बनेको छ । काल खण्डमा त्यो सटर किन बन्यो, के प्रयोजनको लागि बन्यो त्यो समिक्षाको विषय होला । रेडक्रसले २ कठ्ठा जग्गा लिएको छ । त्यो कहिले सम्मको लागि सम्झौता छ केहि थाहा छैन । रेडक्रससँग कुरा गरेर यो अप्ठ्यारो अवस्थामा त्यहाँ मान्छे राखौं भन्दा मिल्दैन भन्नु भयो । मालपोत त अस्पतालले तिरिरहेको छ । भाडा उहाँहरुले उठाईरहुन भएको छ । त्यो भाडा हामीलाई आए पनि त विशेषज्ञ डाक्टर राख्न सकिन्थ्यो । रेडक्रसले आफ्नो दुई ओटा भवन भाडामा लगाईरहेको छ । कम्तिमा पनि पहिला दुःखमा प्रयोग ग¥यो अहिले अन्त स्तानान्तरण गरेको भए त्यहाँ हामी ल्याव सञ्चालन गर्न सक्थ्यौँ, डाक्टरलाई बस्नका लागि व्यवस्थापन गर्न सक्थ्यौँ । अब केहि दिनमा नै यहाँ डाक्टरहरु बसेका भवनहरु भत्किँदै छन् । भत्केपछि समस्या छ । अगाडीको सटरहरु सबै भत्किँदै छन् । मास्टर प्लान अनुसार भत्किन्छ । अस्पतालको छेउमा सिमेन्ट, चल्ला र दाना वेच्न मिल्ला ? मादक पदार्थ र धु्रम्रपान बेच्न मिल्ला ? त्यहाँ त मलाई लाग्छ औषधि पसल, जुस पसल, सुत्केरीलाई खुवाउने ज्वानोको झोल वनाएर बेच्ने पसल हुुनुपथ्र्यो । त्यहाँ अहिले विचित्रको अवस्था छ । यो सबै मास्टरप्लान अनुसार नै भत्किन्छ । मास्टर प्लान अनुसार धेरै कुरा बन्दै छ । मैले कुनै आग्रह पुर्वागह लिएर होईन । मलाई यहाँबाट लोकप्रियता कमाउनु छैन । तर आधारभूत तहका नागरिकले सेवा सुविधा पाउनुपर्छ भन्ने मेरो मान्यता हो र म सोहि अनुसार काम गर्दैजानेछु ।
    मैले अस्पतालमा आएको सबै सेवा सुविधा आवश्यकताको आधारमा सेवा प्रवाह गर्न कुनै कन्जुस्याई गरेको छैन । पहिला सामाजिक सुरक्षा कोषमा आएको पैसा खर्च हुँदैन थियो । अहिले मैले आवश्यकताको आधारमा वितरण गरेको छु । विपन्न परिवारका विरामीलाई ८ हजार गाडी भाडा दिएर उपचार गर्दा ज्यान बाँच्छ भने म गर्छु । सिन्धुली अस्पताललाई सबैले माया गरिदिनु भएको छ । हितलाल श्रेष्ठ ज्यूहरुले सामुदायिक वन महासंघबाट एक लाख दिनु भयो । त्यस्तै उज्वलविक्रिम थापाले दिनु भएको छ । यस्ता धेरै दाताहरुको लगाव छ । आज पनि आईपासले करिब १ लाख ७९ हजार बराबरको सामाग्रि दिनु भएको छ । यहि सहयोग निरन्तरता रह्यो भने यो अस्पतालले विशिष्ट सेवा दिने समय नजिकै छ ।
    तपाईं राजनीतिकर्मी पनि हुनुहुन्छ । अहिले तपाईं अहोरात्र अस्पतालको सुधारमा खटिनु भएको छ । केहि मानिसहरु यसमा पनि राजनीतिक फाईदा लुकेको छ भन्छन् नी ?
    –यस्तो सोचाइ सरासर गलत हो । म यहाँ विशुद्ध समाज सेवा गर्न आएको हो । राजनीतिक फिल्ड भनेको बाहिर हो । म यो अस्पतालको कम्पाउण्ड भित्र आएपछि न म यहाँ काँग्रेस हुन्छु, न राप्रपा हुन्छु, न नेकपा हुन्छु । म यहाँ विशुद्ध विरामीलाई सहज उपचार व्यवस्थापन गर्नेमा तल्लीन हुन्छु । अस्पताल बाहिर जाँदा म नेकपाको कार्यकर्ता र नेकपा सिन्धुलीको कार्यालय सदस्य हुँ । राजनीतिकर्मी भएपछि मेरा पनि राजनीतिक अपेक्षा होलान् । तर अस्पतालमा कुनै पनि राजनीतिक फाईदाको लागि प्रयोग हुन्न । पहिला कर्मचारी भर्ना, सामाग्रि खरिदमा विवाद हुन्थ्यो । अहिले त्यस्तो केहि छैन किन भने अहिले खुल्ला प्रतिस्पर्धा मार्फत हुन्छ । मलाई कुनै स्वार्थ पनि छैन आर्थिक लाभ पनि छैन । म कुनै पनि सामाजिक सम्पत्तिमा दुरुपयो गर्दिन । पहिला पहिला यहाँको चलन के रहेछ भने एउटा सामान विग्रियो भने वनाउने र मर्मत गर्ने चलन रहेनछ । सिधै नयाँ खरिद गरिहाल्ने वा बजेट नभए सेवा नै अबरुद्ध गर्ने । अहिले मर्मत गरेर सञ्चालन हुनेसम्म मर्मत नै गर्छाैं । पैसा बाँकी बस्यो भने त राज्यको पैसा बच्छ नी । फेरी पनि दोहो¥याउँछु ‘सिन्धुली अस्पतालको विकास मेरो पहिलो प्राथमिकता हो, मेरो प्रतिवद्धता हो ।’ मैले यो अस्पतालमा गरेको कामलाई यो गरेँ त्यो गरँे भनेर म प्रचारबाजी गर्दिन । यो मेरो समाज सेवा हो । यो अस्पताल सुधार भयो भने हामी सबै सिन्धुलीवासीलाई सुविधा पुग्छ ।