• “यदि कृत्रिम बहानाबाजी हो भने यसमा सरकारले यथाशीघ्र हस्तक्षेप गर्नुपर्छ । जनताको स्वास्थ्य जस्तो जीवनकै अस्तित्वको सवालमा पनि कृत्रिम समस्या खडा गरिएको हो भने तिनीहरू हत्यारा हुन् । यसरी व्यवसायिक ढंगले मात्र चल्ने स्वास्थ्य संस्थाहरूप्रति सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्छ ।”

    हाल विश्व कोरोना भाइरस महामारीको दोस्रो भेरिएन्टबाट आक्रान्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिडको पहिलो संस्करण संसारभर थुप्रै मानिसहरूको प्राण हर्दै केही सुस्ताएको थियोे । उक्त त्रासदीको घाउ पुरिन नपाउँदै पुनः अझ शक्तिशाली र मानव विनासकारी रूपमा नयाँ बेलायती भेरिएन्ट ऐले संसारका लगभग ४४÷४५ मुलुकमा फैलिइसकेको छ । कोभिडको सङ्क्रमणबाट विश्वभर साँढे १६ करोड बढी प्रभावित भैसकेका छन् भने ३४ लाख २० हजार बढीले आफ्नो ज्यान गुमाइसकेका छन् । दोस्रो लहरको भेरिएन्टको चपेटाबाट सबभन्दा बढी हाम्रो छिमेकी मित्रराष्ट्र भारत आक्रान्त बनेको छ । लगभग १ अरब ४० करोड जनसंख्या भएको भीमकाय मुलुक भारतमा कोरोनाको साम्राज्य डढेलो झैँ फैलिइरहेको छ । त्यहाँ अहिलेसम्म लगभग २ करोड ५५ लाख सङ्क्रमित भैसकेका छन् भने लगभग ३ लाखको हाराहारीमा मानिसहरूले ज्यान गुमाइसकेका छन् ।
    नेपालको अवस्थाः
    भारतसँगै खुला सीमाका कारण नेपालमा पनि यसको सङ्क्रमण भयावह रूपमा फैलिइरहेको छ । आजसम्म कोभिड सङ्क्रमित संसारका २२१ मुलुकहरू मध्ये सङ्क्रमण र मृत्युु संख्या दुबैमा नेपाल ४३ औँ स्थानमा रहेको छ । आजको मितिसम्ममा नेपालमा कुल ४ लाख ८० हजार ४ सय १८ जना सङ्क्रमित भैसकेका छन भने आजको मितिमा सक्रिय सङ्क्रमितको संख्या १ लाख १४ हजार ३ सय ५८ रहेकोे छ । यसको सङ्क्रमणबाट जेठ ५ गते साँझसम्म ५,६५७ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु दर पनि दिनदिनै बढ्दो क्रममा रहेको छ । जेठ ५ गते मात्रै पनि अहिलेसम्मकै सबैभन्दा बढी एकै दिन २४६ जनाको मृत्यु भएको छ । हरेक दिन ७ हजारदेखि ९ हजारको संख्यामा सङ्क्रमितहरू बढिरहेका छन् । कोभिडको पहिलो लहरमा अन्य दीर्घ रोग भएका तथा वृद्ध वृद्धा मात्रै यसको शिकार भएकोमा दोस्रो भेरिएन्टबाट तुलनात्मक रुपमा कुनै पनि दीर्घ रोग नभएका तथा युवा पुस्ताको मृत्यु दर पनि अत्यासलाग्दो गरी बढेको देखिएको छ । रहरलाग्दा र भरोसायोग्य कयौं युवायुवतीहरूलाई चीलले चल्ला टिपेर लगेझैँ असमयमै टपक्क टिपेर लाँदै छ । सबै किसिमका सन्चार माध्यममा प्रस्तुत गरिने अस्पतालमा सङ्क्रमित तथा तिनका आफन्तका चित्कार, मृतकका तथ्यांक, अन्तिम संस्कारका दृश्यका साथै सामाजिक सन्जालका भित्ताहरूमा मृतकका तस्बिर सहित श्रद्धाञ्जली र समवेदनाका सन्देशहरूले मानिसका मनमा एक किसिमको भयावह अवस्थाको कल्पनाले त्रसित अवस्था सिर्जना गरिरहेकोे छ । सङ्क्रमण फैलावटको चेन ब्रेक गर्न भन्दै हाल नेपालका प्रायः सम्पूर्ण भूभागमा कुनै न कुनै प्रकृतिको निषेधाज्ञा जारी गरिएको अवस्था छ तर पनि सङ्क्रमण घट्ने कुनै छाँट्काट देखिएको छैन । अझ नयाँ प्रकृतिको तेस्रो भेरिएन्ट अझ दोस्रो भन्दा ५० प्रतिशत बढी सङ्क्रामक रूपमा विकसित भैसकेको कुरा विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरेको भनेको स्वास्थ्य मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ ।
    उपचारमा समस्याः
    नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आजसम्मको तथ्यांकले सक्रिय सङ्क्रमितको संख्या ११४,३५८ देखाएको छ । जसमध्ये लगभग १० हजारको हाराहारीमा मात्र सङ्क्रमितहरू मात्र अस्पतालमा भर्ना भएका छन् । लगभग १०००÷१२०० सङ्क्रमित जटिल अवस्थाका कारण आइसियु र भेन्टिलेटरमा रहेको तथ्याङ्कले देखाउँछ । तर अस्पतालहरूले खास गरी निजि अस्पतालहरूले अक्सिजन तथा शैय्या अभावको कारण देखाउँदै धमाधम सूचना टाँस गरेरै थप विरामी भर्ना गरेर उपचार गर्न नसकिने भन्दै बन्द गरेको देखिएको छ । जसका कारण सरकारी अस्पतालहरूमा बिरामीहरूको थामिनसक्नु चाप बढेको देखिन्छ । सरकारी निकाय ढाडस दिनुको सट्टा स्वास्थ प्रणालीले धान्नै नसक्ने अवस्था रहेको भन्दै अझै बिरामीको मनोबल घटाउने र त्रास फैलाउने काम गरिरहेको छ । नीजि क्षेत्रलाई नियमन गरी व्यवस्थित र जिम्मेवार बनाउन सकिरहेको छैन । समयमा अक्सिजन र अस्पतालमा शैय्या नपाएर अस्पताल चहार्दा चहार्दै, छटपटिँदा छटपटिँदै एम्बुलेन्समै बिरामीको ज्यान गइरहेको विडम्बनापूर्ण दृश्य हाम्रा अगाडि छन् । सम्बन्धित चिकित्सक तथा सरकारी संयन्त्र स्वास्थ्य प्रणाली नै फेल भएको भन्दै स्वास्थ्य सङ्कटकाल लगाउनु पर्ने धारणा राखिरहेका छन् ।
    कसरी फेल भयो स्वास्थ्य प्रणाली ?
    स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा देशभर ठूला सरकारी अस्पताल ६५ ओटा छन् । नीजि अस्पताल ३६६ ओटा छन् भने २० भन्दा बढी मेडिकल कलेज शिक्षण अस्पतालहरू छन् । ७७ जिल्लामा जिल्ला अस्पताल पनि छँदै छन् । मुलुकभर ४२०० बढी सामुदायिक स्वास्थ्य संस्थाहरू रहेको देखिन्छ । सानातिना सामान्य स्वास्थ्य सेवा दिने संस्थाहरू गाउँ गाउँमा छन् । मेडिकल काउन्सिलको तथ्यांकले २४,८१४ जना एमबिबिएस डाक्टरहरू दर्ता रहेको देखाउँछ भने स्वास्थ्य मन्त्रालयकै तथ्यांक अनुसार पनि १६,४३२ जना एमबिबिएस डाक्टरहरू सेवारत छन् । स्वास्थ्य सहायक, स्टाफ नर्स, अहेव, अनमी जस्ता स्वास्थ्य सेवामा कार्यरत लाखौँ जनशक्ति छ ।
    स्वास्थ्य मन्त्रालयकै दैनिक प्रेस ब्रिफिङलाई आधार मान्दा कोभिड सङ्क्रमित मध्ये लगभग १० प्रतिशतको हाराहारी मात्र उपचारका लागि अस्पताल भर्ना भएका छन् । आजका मितिमा यो संख्या लगभग १० हजार हुन आउँछ । कोभिडको बहानामा अन्य बिरामीहरूलाई अस्पतालले भर्ना नै नलिएको अवस्था छ । ओपिडी सेवा त बन्द प्रायः नै छ । उसो भए नेपालको स्वास्थ्य पूर्वाधार के १० हजार बिरामी पनि धान्न नसक्ने अवस्था हो त ? १ लाख बढी बिरामी घरमै बसेको अवस्थामा १० हजार बिरामी भर्ना गरेर अस्पतालको विद्यमान क्षमता सकियो भनेर हात उठाउनुलाई स्वाभाविक मान्न सकिन्छ ? ३ करोड जनसंख्या भएको, १६ हजार एमबिबिएस डाक्टर कार्यरत रहेको मुलुकमा एक पटकमा १० हजार बिरामी भर्ना हुँदा स्वास्थ्य प्रणाली नै फेल हुन्छ र सरकारले हात उठाउँछ भने यहाँभन्दा लाजमर्दाे के हुन्छ ? यो अव्यवस्थापनको जिम्मेवारी कसले लिने ? के क्षमता नभएरै हात उठाएको हो वा कृत्रिम समस्या देखाएर जिम्मेवारीबाट पन्छिएको हो खोजी हुनु जरुरी छ । यदि कृत्रिम बहानाबाजी हो भने यसमा सरकारले यथाशीघ्र हस्तक्षेप गर्नुपर्छ । जनताको स्वास्थ्य जस्तो जीवनकै अस्तित्वको सवालमा पनि कृत्रिम समस्या खडा गरिएको हो भने तिनीहरू हत्यारा हुन् । यसरी व्यवसायिक ढंगले मात्र चल्ने स्वास्थ्य संस्थाहरूप्रति सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्छ । साँच्चिकै समस्या छन् भने तिनको समाधानका लागि पहलकदमी लिने जिम्मेवारी पनि सरकारकै हो । तर कृत्रिम समस्या देखाई महामारीको समयमा जिम्मेवारीबाट पन्छिन खोज्ने संस्थाहरूलाई सदाका लागि बन्द गर्नुपर्छ ।
    निष्कर्षः
    अहिलेको प्रधान विषय भनेको जनताको जीवन रक्षा नै हो । यसका लागि नागरिकले सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ । सरकारद्वारा निर्धारित मापदण्डको पूर्ण पालना गर्नुपर्छ । महामारी नियन्त्रणका लागि सम्पूर्ण निकायहरू बिच हातेमालो हुनु जरुरी छ । तसर्थ सबै एकजुट भई महामारी विरुद्ध लड्नु र मानव जिजीविषाको रक्षा गर्नु नै आजको एक मात्र आवश्यकता हो ।
    [email protected]