• वैशाख १४, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता, पूर्वसभामुख अग्नी प्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताउनु भएको छ ।
    माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुलीको पुर्ण बैठकमा सहभागी हुन सिन्धुलीमाढी आइपुग्नु भएका सापकोटाले प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।
    उहाँले लोकतन्त्र प्रवचनको विषय नभइ जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताउनुभयो । लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरु प्रतिवद्ध हुन नसकेको उपाध्यक्ष सापकोटाले जिकिर गर्नुभएको छ ।
    “लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हा े। लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान सिद्धान्त हो । त्यसका लागि पार्टीहरु प्रतिवद्ध भएको मैले देखिनँ । ; सापकोटाले भन्नुभयो ।
    नेपालका राजनीतिक दलहरुमा आन्तरिक र बाह्य लोकतन्त्र कमजोर भएको उहाँको भनाई छ । पार्टीहरुमा आन्तरिक लोकतन्त्र सबल सुदृढ हुने हो भने संसद स्वभावीक रुपमा सुदृढ हुने दावी गर्नुहुँदै उहाँले पार्टीको आन्तरिक दृष्टिकोण संगै साझा दृष्टिकोण बन्नु पर्ने आफ्नो बुझाई रहेको स्पष्ट पार्नुभयो ।
    उहाँले संघ र प्रदेश सभाको सदन अस्तब्यस्त बन्दै गएकोमा आफुलाई दुख लागेको बताउनुभयो । “ संघ र प्रदेश सभाको सदन अस्तब्यस्त बन्दै गएकोमा मलाई दुख लाग्छ । यसले जनतामा निरास बनाउने, जनता चिन्तीत हुने, संघियता तथा परिवर्तन बिरोधीहरुलाई उत्साहित पार्ने काम भइरहेको छ । लोकतान्त्रीक मुल्य मान्यता अहिले ठिक ढंगले लागु नभएको स्पष्ट देखिन्छ । ; सापकोटाले भन्नुभयो ।
    “ संसद भनेको देशको आत्मा हो । अहिले विचारमा, राजनीतिमा, सिद्धान्तमा केन्द्रित भएर बहस नहुने गरेको र जहाँ बाट मुल्यमान्यता विचार धाराको प्रष्फुटन हुनुपर्ने हो । त्यहि बाट बिचार, राजनिती र सिद्धान्तमा बहस नहुदा जनतामा निरासा पैदा भएको देखिन्छ । ; उहाँले थप्नुभयो ।
    सापकोटाले युवाहरुलाई देशभित्र नै बस्ने वातावरण मिलाउन नसकिएकोमा चिन्ता ब्यक्त गरेर मात्र नहुने बताउनुभयो । हालको परिवेशमा चिन्ता भन्दा पनि चिन्तन गर्नुपर्ने र देशमा युवाहरुलाई रोक्न नयाँ उपायहरु निकाल्नुपर्ने पनि उहाँको भनाई छ ।
    राजनैतिक परिवर्तन पश्चात जिवनस्तर माथी उठ्ने अपेक्षा जनताले राखेकोले राजनैतिक दलहरुले जनताको एकएक प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । बिकास निर्माण, राष्ट्रियता र जनतालाई सेवा प्रवाह गर्ने कामको पहलकदमी सरकारले लिनुपर्ने र राजनैतिक पार्टीहरुको बिचमा साझा सहमति हुनुपर्ने समेत उहाँले बताउनुभयो ।