• बैशाख १७, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिविआर) कार्यविधि विपरित संस्था छनौट गरी कार्यक्रम सम्झौता गरेको भन्दै उच्च अदालत पाटनले खारेज गरेको छ ।

    शुक्रवार बसेको न्यायाधिश हरिप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले बागमती प्रदेश सरकारद्वारा प्रकाशित सूचना, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पनुःस्थापना कार्यक्रम सञ्चालन कार्यवि २०८० समेतमा भएको कानूनी व्यवस्थालाई विचार गर्दा यस अदालतबाट मिति २०८१ बैशाख ३ मा जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिदिएको छ । बैशाख ३ गते न्यायाधिश ध्रुबराज नन्दको इजलासले दुई गाउँपालिकालाई अल्पकालिन आदेश दिएको थियो ।

    तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले सिविआर कार्यक्रम सञ्चालनका लागि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा (एचआरडिसी) सँग सम्झौता गरेको थियो । बागमती प्रदेश सरकारको सशर्त अनुदानमा सञ्चालित सिविआर कार्यक्रम बागमती प्रदेशको कार्यविधि विपरित भएको भन्दै सिन्धुली महिला अपाङ्ग सेवा संघले उच्च अदालत पाटनमा रिट निवेदन पेश गरेको थियो ।

    बागमती प्रदेशको कार्यविधि अनुसार जिल्लामा नै अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था हुनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्था हुनुपर्ने जस्ता मापदण्ड रहेको छ । कार्यविधि विपरित गाउँपालिकाले राजनीतिक शक्तिको आडमा काभ्रेमा रहेको सिन्धुली जिल्लामा कार्यक्षेत्र नभएको अस्पतालसँग कार्यक्रम सम्झौता गरेको सिन्धुली महिला अपाङ्ग सेवा संघका अध्यक्ष दिपा देवकोटाले बताउनुभयो । संविधानले नै अपाङ्गता भएका व्यक्तिलाई विशेष हकको व्यवस्था गरेको र बागमती प्रदेश सरकारले कार्यविधि बनाएर अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनःस्थापना कार्यक्रममा सशर्त अनुदानको व्यवस्था गरेको छ । पालिकाले राजनीतिक पहुँचमा कार्यविधि विपरित कार्यक्रम सम्झौता गरेकोले न्यायको ढोका ढकढक्याउन बाध्य भएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

    न्यायिक लडाई लडिरहँदा राजनीतिक शक्तिको आडमा धम्किपूर्ण अभिव्यक्ति समेत सहनु परेको अध्यक्ष देवकोटाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि जात, धर्म, राजनीतिक दल वा कुनै पनि भेद नछुट्याई संघर्ष गरिरहने अध्यक्ष देवकोटाले वताउनुभयो । कार्यविधि अनुसार पालिकामा उपप्रमुखको संयोजकत्वमा सिविआर कार्यक्रम छनौट समिति रहेको हुन्छ । सिविआर कार्यक्रम दुधौली नगरपालिकाले अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी) र फिक्कल गाउँपालिकाले सिन्धुली महिला अपाङ्ग संघसँग सम्झौता गरेर कार्यक्रम गरिरहेको छ । हरिहरपुरगढी गाउँपालिका ले हाल सूचना प्रकाशन गरेको छ ।