• वैशाख १३, सिन्धुली/गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारस्थित कौशिका माविको २ कोठे भवन निर्माणमा ठेकेदारले लापारवाही गरेको पाइएको छ । अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरहीन भएको पाइएपछि बागमती प्रदेश सांसद शुष्पा भुजेलले पुनः निर्माण गर्न निर्देशन दिनुभएको छ ।
    निर्माणाधीन विद्यालय भवनको अनुगमनमा पुग्नुभएकी प्रदेश सांसद भुजेलले भवनको पिपिसि ढलानको काम गुणस्तरहीन भएको भन्दै भत्काइदिएर पुनः निर्माण कार्य सुरु गर्न निर्देशन दिनुभएको हो ।
    गोलन्जोर–३ का वडाध्यक्ष कृष्णप्रसाद पोख्रेल, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डोरबहादुर कार्कीलगायतले भवन निर्माणमा प्रयोग गरिएका निर्माण सामग्री गुणस्तरहीन भएको गुनासो गर्नुभएको थियो । उक्त गुनासोपछि प्रदेश सांसद भुजेल भवन निर्माणस्थलम अनुगमनका लागि पुग्नुभएको थियो ।
    अनुगनमा पुग्दा भवन निर्माणका क्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल खालको गिटी र बालुवा प्रयोग गरिएको, सोलिङमाथि गरिएको पिसिसि ढलानलाई क्युरिङ नभएको पाइएकोले भत्काइदिएको सांसद भुजेलले बताउनुभयो ।
    “पिपिसी ढलान गरेको ४ दिन भएको रहेछ । मैले हातैले कोट्याउँदा सबै उप्कियो । फसफसी बालुवा निस्कियो । मैले निर्माणको लागि ठेक्का लिएको कम्पनीको इन्जिनियरसँग फोन गरेर बुझ्दा ढाकछोप गर्नतिर लाग्नुभयो,’’ सांसद भुजेलले भन्नुभयो ।

    उहाँले व्यवसायीलाई पिपिसी भत्काएर विद्यालयको भवन पुनः निर्माण सुरु नगरे भुक्तानी रोकिदिने चेतावनी दिनुभएको छ । त्यस्तै हाल विद्यालय भवन निर्माणमा प्रयोग भएका सम्पूर्ण सामान फिर्ता गरेर पुनः गुणस्तरीय सामग्रीको व्यवस्था नगरेसम्म भवन निर्माणको कार्य रोकिदिन गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराललाई आग्रह गर्नुभएको छ ।
    प्राविधिक इस्टिमेटअनुसार गुणस्तरीय काम नगर्दा जनताबाट करबापत संकलित राज्यकोषको दुरुपयोग र भ्रष्टाचार हुने भएकोले यस्तो कार्य रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । हरेक काममा आफ्नो र गाउँपालिकाको समेत निगरानी रहने, नियमित अनुगमन, निरीक्षण गर्दा कमजोरी पाइए माफी नहुने उहाँको भनाइ छ ।

    बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित ३० लाख रुपैयाँ बजेटबाट उक्त विद्यालयको २ कोठे भवन निर्माण गर्न लागिएको हो । विद्यालयको भवन निर्माणको लागि ताराजुना निर्माण सेवाले बागमती प्रदेश सामाजीक मन्त्रालयसँग २०८० माघ १० गते २०८१ वैशाख ३० गते भवन निर्माण सम्पन्न गरिने गरी ठेक्का सम्झौता गरेको थियो ।