• बैशाख ११, स्पेन/स्पेनको पर्यटकीय शहर बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन तथा नेपाली नयाँ वर्ष २०८१’ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । यही २१ अप्रिलका दिन बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडि नेपाली कला संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।
    नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली खानाको स्टलसमेत राखिएको थियो । कार्यक्रमको करिब १० हजार पर्यटकले अवलोकन गरेको मञ्चका महासचिव तथा कार्यक्रम संयोजक सूर्यप्रसाद सापकोटाले जानकारी दिए ।

    मञ्चका अध्यक्ष विशाल ढुंगानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाली जन प्रगतिशील मञ्च युरोपका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र प्रवाश समन्वय समितिका सदस्य गंगाप्रसाद भुसाल, एनआरएनए स्पेनका अध्यक्ष पेशलकुमार कोइराला, एनआरएनएका निवर्तमान आइसिसी सदस्य दिनेशकुमार गिरीलगायतको उपस्थिति रहेको थियो ।

    प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुंगाना, जनसम्पर्क समिति स्पेनका सभापति सन्तोष श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी विदेश विभाग स्पेनका सभापति भोला लामिछाने पनि विशेष अतिथि रहेका थिए । स्पेनस्थित जातीय, क्षेत्रीय, युवा, महिला, नेपाली पाठशाला, कलाकारलगायत सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा हजारौं नेपालीहरुको सहभागिता थियो ।

    नेपाली खानाहरूको परिकारसहित स्टल रहेको कार्यक्रममा नेपाली संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै, नेपाल पर्यटन बोर्डले तयार गरेका नेपालसम्बन्धी प्रचार सामग्रीहरू, भरतपुर महानगरपालिकाले तयार गरेका ‘भिजिट भरतपुर–२०२४’ सम्बन्धी प्रचार सामग्रीहरू, नेपालको राष्ट्रिय झण्डा, पोस्टर, भिजिट नेपाल लेखिएका टिसर्ट तथा ढाका टोपीलगायत वितरण तथा जानकारीका लागि राखिएको थियो । नेपाल भ्रमण र भरतपुर भ्रमणका लागि पर्यटकहरूलाई निमन्त्रणा गरेको मञ्चका अध्यक्ष ढुंगानाले जानकारी दिए ।