• वैशाख १७, सिन्धुली/सिन्धुलीको सामुदायिक वनहरुमा चैतको पहिलो हप्ताबाटै डढेलो सुरु भयो । डढेलोले वनमा हुर्कँदै गरेका बोटविरुवा, जङ्गली जनावार, व्यक्तिगत सम्पति तथा मानवीय क्षति समेत हुन पुग्यो ।

    हालसम्म जिल्लाको ६ वटा पालिकामा ३ हजार ९ सय ७ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाल प्रसाद धितालले जानकारी दिनुभयो । प्रमुख धितालका अनुसार हालसम्म सबैभन्दा बढी डढेलो तीनपाटन गाउँपालिकाको जङ्गलमा लागेको छ । तीनपाटनमा २ हजार १ सय १ हेक्टर क्षेत्रफल जङ्गलमा आगोलागि हुँदा गत आर्थिक बर्षमा गाउँपालिकाले बृक्षारोपण गरेको हजारौँ विरुवाहरु समेत नष्ट भएका छन् ।

    त्यस्तै कमलामाई नगरपालिकाको भिमानको जङ्गलमा ९ सय २० हेक्टर क्षेत्रफल, शिद्धेश्वर २ सय ८७ हेक्टर र रानिबासको १ सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । हालसम्म दुधौलीको हर्षाही लगायत विभिन्न जङ्गलमा २८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने गोलन्जोरको १ सय ३ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको र फिक्कलको ३ सय ३५ हेक्टरमा आगो लागेको जानकारी दिइएको छ ।

    वन डढेलो असारको पहिलो हप्तासम्म लाग्ने भएकोले अझै धेरै क्षेत्रफल डढेलोले ध्वस्त हुने वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाल प्रसाद धितालले बताउनु भयो । “असारको पहिलो हप्तासम्म वनमा डढेलो लाग्छ । अझै धेरै क्षेक्रफलमा डढेलो लाग्ने सम्भावना छ । हाम्रो जस्तो देशमा प्राकृतिक तरिकाले डढेलो लाग्दैन । कृत्रिम तरिकाबाटै डढेलो लाग्ने हो । मानवीय कारणलेनै आज जङ्गलहरु ध्वस्त भइरहेको छ” धितालले भन्नुभयो ।

    बाटो हिड्दै गर्दा चुरोट, बिडिका ठुटा फाल्दिने, जङ्गलमा वन्यजन्तु शिकार गर्ने क्रममा, लहैलहैमा अन्त डढेलो लागेको देखेर बालबालिकाले लगाइदिने र घाँस पलाउने लोभमा पाखोमा डढेलो लाग्ने गरेको पाइएको उहाँले बताउनुभयो । तर त्यत्ति धेरै ठाउँमा ठूलो क्षेत्रफल ध्वस्त बनाउने गरि आगलागी भएपनि त्यो आगो कसले लगायो भन्ने बारे भने अहिलेसम्म पहिचान हुन सकेको छैन । आगलागीले ठूलो वन क्षेत्र नोक्सान भएपनि त्यो आगो कसले लगाएको हो भन्ने समेत पहिचान हुन नसकेको प्रमुख धितालले बताउनुभयो ।

    “डढेलोले ठूलो वनक्षेत्र ध्वस्त भएपनि त्यो आगो कसले लगाएको हो भन्ने बारे खुलाउँनै सकस छ । यो वर्ष पनि ठूलो वनक्षेत्र ध्वस्त भइरहे पनि आगजनी गर्ने व्यक्ति वा समूह पहिचान भएन । आगलागी गर्ने व्यक्ति पहिचान गर्न सहज छैन । हत्तपत्ति पक्राउ पनि परेका हुँदैनन” धितालले भन्नुभयाे । डिभिजन वन कार्यालय सिन्धुलीले बर्षेनी डढेलो नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गर्दैआइरहेको छ । वन डढेलाबाट हुने क्षतिको बिषयमा स्थानीयहरुलाई हप्ताभरीनै प्रशिक्षण गराइने भएपनि प्रत्येक बर्ष वन डढेलोले ठूलो वनक्षेत्र ध्वस्त हुने गर्दछ ।

    “अहिले जे जति ठाउँमा आगलागी भएको छ, त्यो सबै स्थानीयले नै लगाएका हुन स्थानीयलाई नै लक्षित गरेर आगोलागि बाट हुने क्षतिको बिषयमा प्रत्येक बर्ष सचेतनामूलक कार्यक्रम गर्छाैँ । वन डढेलो रोकिदैन । मान्छेले जानजान आगो लगाएका हुन् । त्यसमा स्थानीयबासि नै बढी जिम्मेवार हुनुपर्छ” उहाँले भन्नुभयो । वनमा आगो लगाउने करिब सतप्रतिशत व्यक्ति नै स्थानीय हुने भएपनि कारवाहीमा पर्ने डरले आगो लगाउने व्यक्ति खुल्न नचाहँदा समस्या थपिएको उहाँले बताउनु भयो ।

    जिल्लाका सामुदायिक वनका पदाधिकारीहरु वन डढेलो नियन्त्रणका लागि सक्रियताका साथ लाग्न जरुरी रहेको धितालको भनाई छ । वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सामुदायिक वनका पदाधिकारीहरुले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । वनमा डढेलो लगाउने व्यक्ति पक्राउ नपरेको कारण पनि ठूलो वनक्षेत्र ध्वस्त हुने गरेको छ । सामुदायिक वनहरुको वन विकास कोषमा भएको रकम प्रयोग गरेर भएपनि वनमा डढेलो लगाउने व्यक्ति पहिचान गर्न आग्रह गर्दै धितालले पहिचान खुलेको व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

    पटक पटक डढेलो लगाउने व्यक्तिको पहिचानको लागि सामुदायिक वनहरुसँग आग्रह गरिएको उहाँले बताउनुभयो । अन्य जो कोहिले पनि त्यस्ता व्यक्तिको पहिचान खुलाएर डिभिजन वन कार्यालयमा जिम्मा लगाउने हो भने कारवाहीको लागि तयारी रहेको धितालले बताउनुभयो ।

    वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । जिल्लाको ९ वटा पालिका मध्ये ५ वटा पालिका वन डिभिजन कार्यालय सिन्धुलीको जिम्मेवारीमा छ भने वन डिभिजन कार्यालय मरिणको जिम्मेवारी भित्र ४ वटा पालिका पर्दछ ।