• एसइइको नतिजा सार्वजनिक भयो । नतिजा सार्वजनिक भएसंगै विद्यार्थीहरु आपसमा खुसी आदानप्रदान गर्नथाले । विद्यार्थी मात्र खुसी भएनन् संगसंगै अभिभावक तथा शिक्षकहरु पनि खुसीमा खुसी मिसाउँदै बधाइ दिन थाले । राम्रो नतिजा ल्याउने विद्यार्थी र अभिभावक अलि बढि खुसी भए भने तुलनात्मक रुपमा मध्यम नतिजा ल्याउने विद्यार्थी तथा अभिभावकहरु त्यहि अनुसार खुसी भए ।
    खुसी हुन मानिसलाई तेति ठूलो कारण आवस्यक पर्दैन । त्यहि माथि बालबालिकाहरु जो कोरोनाको त्रासमा समय बिताइरहेका छन् । अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई खुसी राख्न यतिबेला साना साना उपायहरुलाई पनि सदुपयोग गरिरहेका छन् । वर्षाैंसम्म गरेको परिश्रमको फल जस्तोसुकै भए पनि श्रम गर्नेले खान पाउनुपर्छ । यतिबेला बालबालिकाहरु त्यहि फलको अपेक्षा गरिरहेका थिए जसका लागि उनिहरुले दश वर्षसम्म श्रम गरेका छन् । अपेक्षा थियो र नतिजा पनि सार्वजनिक भयो ।
    तर यो खुसी केहि अभिभावकहरु, केहि शिक्षकहरु, केहि कथित शैक्षिक व्यक्तित्वहरु र केहि सामाजिक सन्जालका स्वघोषित बुद्धिजिवीहरुलाई पचेन । परिणाममा उनिहरु आफ्ना आपाच्य शव्दहरु सहित सामाजिक सन्जालमा फोहोर गर्नथाले । जुन कुरा उनिहरुकै लागि पनि घातक हुनसक्छ । एसइइको नतिजा सार्वजनिक भएदेखि विद्यार्थीहरुको क्षमता माथि शंका गर्दै, उनिहरुको परिश्रम माथि प्रश्न उठाउँदै टिकाटिप्पणीहरु सुरु भएका छन् । उनिहरुले दश वर्षसम्म गरेको श्रम माथि औँला उठाइँदैछ । यो भनेको शिक्षक माथि पनि उठाइएको औँला हो । परिक्षा नै नदिइ पास भएका विद्यार्थी भनेर उनिहरुलाई हिनताबोध गराउने काम भैरहेको छ । यसलाई उनिहरुको कमजोर मानसिकताको उपज भन्दा फरक नपर्ला । अझ भन्ने हो भने यो एउटा बाल हिंसा हो ।
    बालबालिकाहरुले हामीलाई परिक्षा नदिलाउनु, हामी परिक्षा नदिइ पास हुन चाहान्छौँ भनेर कसैलाई गुहारेका थिएनन् । विद्यार्थीहरु तयारीका साथ परिक्षा दिन केन्द्रसम्म पुगेको कुरा घाम झैँ छर्लङ्ग छ । कोरोनाका कारण सरकारले परिक्षा स्थगित गरेपछि प्रकृयागत रुपमा विद्यालयले गरेको मुल्यांकनको आधारमा आएको नतिजा माथि बाल मष्तिस्कमा असर पुग्नेगरि टिका टिप्पणी गरिनु राम्रो काम पक्कै हैन । कहिँ कतै अंक चढाउने क्रममा आग्रह पूर्वाग्रह भएहोलान् । तर एउटा कारणलाई सबैतिरको कारण मान्न सकिँदैन । आगामी दिनमा सच्चिने अवसर शिक्षक र विद्यालयसंग बाँकी नै छ ।
    अहिले शिक्षक र विद्यार्थी माथि गरिएको टिप्पणी र लगाइएको लान्छानाले उनिहरु माथि चोट पुग्ने भन्दा अर्काे केहि हुँदैन । यसर्थ आफ्ना बालबालिकाहरुको खुसीमा सामेल भएर अहिलेको महामारीको भयबाट उनिहरुलाई बाहिर निकाल्न सहयोग गरौँ । उनिहरुको साथी बनौँ, खुसी बाँडौं । विद्यार्थीहरुको परिश्रम माथि शंका गर्ने अधिकार कसैलाई छैन, न कि खुसी खोस्ने अधिकार नै । यसर्थ बालबालिकाहरु माथि चोट पुग्नेखालका आलोचना तथा टिका टिप्पणी गर्ने काम बेलैमा बन्द हुनुपर्छ ।