लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष र किशोरको सकारात्मक भूमिकाबारे कमलामाईमा अन्तरक्रिया

सिन्धुली/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कमलामाई नगरपालिकामा आज पाँचौँ दिन पुरुष र किशोरको सकारात्मक संलग्नता विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष शिवकुमारी रायमाझीको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था, यसले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभाव, हिंसा न्यूनीकरणका उपाय तथा लैङ्गिक समानता र न्यायपूर्ण समाज निर्माणमा पुरुष तथा किशोरहरूको सकारात्मक भूमिका र जिम्मेवारीका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख पोखरेलले हिंसामा परेका व्यक्तिलाई दोषारोपण गर्ने नभई उनीहरूलाई संरक्षण, सहयोग र न्यायको सुनिश्चितता प्रदान गर्न सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले लैङ्गिक हिंसा अन्त्य गर्नु महिला तथा बालिकाको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

उहाँले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी व्यवस्था र नीतिगत प्रयाससँगै सामाजिक सोच, व्यवहार तथा परम्परागत विभेदकारी मान्यतामा परिवर्तन आवश्यक रहेको बताउनुभयो। साथै लैङ्गिक हिंसामुक्त, सुरक्षित र समतामूलक समाज निर्माणका लागि कमलामाई नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

यसैगरी अभियानको चौथो दिन हिजो पनि कमलामाई नगरपालिकाको आयोजनामा वडा नम्बर ३ मा लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

“लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष खड्गप्रसाद चौलागाईंको अध्यक्षता तथा नगर उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा लैङ्गिक हिंसाका कारण, यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने प्रभाव र हिंसा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै पीडितको संरक्षण, न्यायमा पहुँच र हिंसामुक्त समाज निर्माणका लागि सबै पक्ष जिम्मेवार र एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कमलामाई नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमार्फत हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्दै समानता र सम्मानयुक्त समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *