नेवाः देय दबूको आयोजनामा भएको खुला रक्तदानमा ४३ जनाद्वारा रक्तदान
सिन्धुली/नेवाः देय दबू कमलामाई नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम भएको छ ।
कमलामाई नगर समितिका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५ जना महिला र ३८ जना पुरुष गरी जम्मा ४३ जनाले रक्तदान गरेका छन् ।
दशैं, तिहार तथा छठ पर्वपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको र रगतको अभाव हुन थालेपछि बिरामीलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले खुला रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

रक्तदान जीवनदान हो भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागी रक्तदाताहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव जीवन बचाउने पुण्य कार्यमा योगदान पु¥याएका छन् ।
नेवाः देय दबू कमलामाई नगर समितिले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ समय-समयमा विभिन्न सामाजिक, सांस्कृतिक तथा सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । संस्थाले सामाजिक सद्भाव, आपसी सहयोग र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै समुदायको हितमा विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ ।
रक्तदानजस्तो मानवीय सेवाको कार्यले रगतको अभावमा जीवनसँग संघर्ष गरिरहेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास आयोजकले लिएको छ । आगामी दिनमा पनि समाज र समुदायको आवश्यकतालाई मध्यनजर गर्दै यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुली, रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।


