कमलामाई २ मा आत्महत्या दुरुत्साहनसम्बन्धी सचेतनामूलक कार्यक्रम

सिन्धुली/लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ मा आत्महत्या दुरुत्साहनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कमलामाई नगरपालिकाको आयोजनामा आज शुक्रबार सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष इन्द्र वाइबाको अध्यक्षता तथा नगर उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको साझेदारीमा आयोजित कार्यक्रममा आत्महत्या दुरुत्साहनसम्बन्धी विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो । कार्यक्रममा आत्महत्या दुरुत्साहनका सामाजिक तथा कानुनी पक्ष, यसले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभाव, सामाजिक उत्तरदायित्व तथा आत्महत्या रोकथामका उपायबारे छलफल गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।

“लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ सञ्चालित अभियानले लैङ्गिक हिंसा न्यूनीकरण, पीडितको संरक्षण तथा न्याय सुनिश्चितताका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममार्फत आत्महत्या रोकथाम तथा हिंसामुक्त समाज निर्माणका लागि परिवार, समुदाय र सम्बन्धित निकायबीच सहकार्य, समन्वय र जिम्मेवार भूमिकाको आवश्यकता औँल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *