दुधौलीमा शिक्षकको तलब सिधै बैंक खातामा,

सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

आर्थिक वर्ष २०८३/८४ को सुरुवातदेखि नगरपालिकाले शिक्षक तथा कर्मचारीको तलब-भत्ता सम्बन्धित व्यक्तिको बैंक खातामा सिधै पठाउन थालेको हो ।

यसअघि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कतिपय अवस्थामा त्रैमासिक रूपमा तलब-भत्ता बुझ्दै आएका थिए । संघ, प्रदेश तथा स्थानीय तहका अन्य कर्मचारीले नियमित रूपमा मासिक तलब पाउने तर शिक्षक तथा कर्मचारीले लामो समय कुर्नुपर्ने अवस्थाले तलब भुक्तानीमा असमानता देखिएको गुनासो हुँदै आएको थियो ।

सोही अवस्थालाई सम्बोधन गर्दै दुधौली नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै मासिक प्रत्यक्ष भुक्तानी प्रणाली लागू गरेको जनाएको छ । नगरपालिकाको अनुसार हालसम्म २०८३ साल साउन, भदौ, असोज र चाडपर्व खर्चबापतको रकम शिक्षक तथा कर्मचारीको बैंक खातामा पठाइ सकिएको छ ।

मासिक तलब भुक्तानीसँगै स्थायी प्रकृतिका शिक्षकको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषल गायतका रकम समेत समयमै मासिक रूपमा जम्मा हुने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा कार्यरत कुल ६६५ जना शिक्षक तथा कर्मचारीको तलब तथा भत्ता नगरपालिकाबाटै सिधै बैंक खातामा भुक्तानी गरिरहेको छ ।

नगरपालिकाका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये सीमित स्थानीय तहले मात्र नगरपालिकाबाट शिक्षकको बैंक खातामा प्रत्यक्ष रूपमा मासिक तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गरेका छन् ।

सशर्त कार्यक्रम कार्यान्वयन कार्यविधि, आर्थिक वर्ष २०८३/८४ मा स्थानीय तहले सम्बन्धित प्रणालीमार्फत विद्यालयबाट मासिक रूपमा माग फाराम संकलन गरी नियमानुसार शिक्षकको बैंक खातामा मासिक रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन सक्ने प्रावधान छ ।

सोही कानुनी व्यवस्थालाई आधार बनाएर नगरपालिकाले विद्यालयबाट आवश्यक विवरण तथा माग फाराम संकलन गरी शिक्षक तथा कर्मचारीको तलब सिधै बैंक खातामा पठाउने प्रणाली कार्यान्वयन गरेको हो ।

दुधौली नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक तथा शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्माले शिक्षक तथा कर्मचारीलाई समयमै तलब उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रत्यक्ष मासिक भुक्तानी प्रणाली सुरु गरेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *