सिन्धुलीमा गणित शिक्षा परिषद्को नवनिर्मित भवन उद्घाटन
सिन्धुली/गणित शिक्षा परिषद् सिन्धुलीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।
कमलामाई नगरपालिका ६ स्थित गणित गृहमा आयोजित एक विशेष समारोहबीच कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन पछि आयोजित कार्यक्रममा नगर प्रमुख पोखरेलले गणित केवल अंकको हिसाब–किताबमा सीमित विषय नभई तर्क, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमताको आधार भएको बताउनुभयो । उहाँले बदलिँदो समयअनुसार गणित शिक्षालाई थप प्रभावकारी, गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री बनाउँदै लैजान स्थानीय सरकार परिषद्सँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा समेत व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले गुणस्तरीय शिक्षाका लागि स्थानीय तह, शैक्षिक संस्था, शिक्षक तथा सम्बन्धित निकायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गणित शिक्षाको विकासमा परिषद्को भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नवनिर्मित कार्यालय भवनले गणित शिक्षाको प्रवद्र्धनसँगै शिक्षक तथा विद्यार्थीका लागि विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने र जिल्लामा गणित शिक्षाको गुणस्तर अभिवृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै निर्मल कुमार घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा गणित शिक्षा परिषद्का पदाधिकारी, शिक्षक, शिक्षासेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।



