असारको अन्तिम सातासम्म ७३.८ प्रतिशत रोपाइँ सकियो

सिन्धुली/सिन्धुलीमा असारको अन्तिम सातासम्म ७३.८ प्रतिशत धान रोपाइँ सकिएको छ।

कृषि विकास कार्यालय सिन्धुलीको अनुसार समयमै पानी पर्नुका साथै गत वर्षजस्तो रासायनिक मलको अभाव नहुँदा यस वर्ष असारको अन्तिम सातासम्म ७३.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । गत वर्ष सोही अवधिमा जिल्लामा ६६ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो ।

कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठको अनुसार जिल्लाको भौगोलिक अवस्था तथा सिँचाइ सुविधाको आधारमा रोपाइँ गरिने भएकाले गर्दा साउनको अन्तिम सातासम्म बाँकी रहेको  २७ प्रतिशतमा  रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । गत वर्ष जिल्लामा ९९ प्रतिशत धान रोपाइँ भएको थियो भने यस वर्ष शतप्रतिशत रोपाइँ हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

असारको अन्तिम सातासम्म जिल्लामा यस वर्ष कमलामाई नगरपालिकामा ८० प्रतिशत र दुधौली नगरपालिकामा ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै सुनकोशी गाउँपालिकामा ६४ प्रतिशत, घ्याङ्लेख गाउँपालिकामा ६० प्रतिशत, फिक्कलमा ६७ प्रतिशत, तीनपाटनमा ८८ प्रतिशत, मरिणमा ७९ प्रतिशत , हरिहरपुरगढीमा ४० प्रतिशत र गोलन्जोर गाउँपालिकामा ८० प्रतिशत धान रोपाइँ सकिएको श्रेष्ठले सिन्धुली खबरलाई बताउनुभयो ।

हाल सम्म सबैभन्दा बढी तीनपाटन गाउँपालिकामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम हरिहरपुरगढी गाउँपालिकामा ४० प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास कार्यालयले जनाएको छ । हरिहरपुरगढीमा सिँचाइ सुविधा पर्याप्त नहुँदा र आकासे पानीको भरपर्नुपर्ने हुँदा रोपाइँ कम भएको कार्यालयको भनाइ छ ।

जिल्लाका नौ स्थानीय तहहरुमध्ये सबैभन्दा बढी धान उत्पादन दुधौली नगरपालिकामा हुने कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । त्यहाँ हालसम्म ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । उत्पादनको हिसाबले गोलन्जोर गाउँपालिकामा सबैभन्दा कम धान उत्पादन हुने कार्यालयले जानकारी दिएको छ । जिल्लामा कुल ६९ हजार २५३ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये ११ हजार १८८ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिन्छ ।

धान उत्पादनको हिसावले सिन्धुलीको दुधौली, तीनपाटन र मरिण क्षेत्रलाई उर्वर क्षेत्र मानिन्छ । मकवानपुर–१, रामधान, सावित्री, कतर्नी, हाइब्रिड जात अन्तर्गतका अन्य जातहरु यहाँ खेती हुने धानका प्रमुख जातहरुमा पर्ने कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिँचाइ सुविधा भएका स्थानहरुमा धान रोपाइँ चाँडै सकिन्छ भने आकासे पानीको भरपर्नुपर्ने स्थानमा रोपाइँ सक्न भदौ महिना नै पर्खिनुपर्छ । तर यस वर्ष मौसमले साथ दिएमा साउनको अन्तिम सातासम्म धान रोपाइँ सकिने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *