स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा घ्याङलेख पहिलो

सिन्धुली/स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा सिन्धुलीका नौ वटा स्थानीय तहमध्ये घ्याङलेख गाउँपालिका पहिलो हुन सफल भएको छ ।
जिल्लाका आठ वटा स्थानीय तहलाई पछि पार्दै घ्याङलेख गाउँपालिका प्रथम भएको हो भने बागमती प्रदेश अन्तर्गतका पालिकाहरु मध्ये पनि घ्याङलेख गाउँपालिका तेश्रो स्थानमा रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को सूचकहरुमा रहि स्थानीय तहले गरेका कार्यहरुको आधारमा ९६.५% अंक सहित घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम भएको हो ।
सुनकोशी गाउँपालिका ९४ अंक सहित दोश्रो स्थानमा रहँदा गोलन्जोर गाउँपालिका ७१.५ अंक प्राप्त गर्दै अन्तिममा रहेको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापन जस्ता विषयको क्षेत्रमा घ्याङ्लेख गाउँपालिका उत्कष्ट अङ्क ल्याउन सफल भएको छ । स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन कार्यविधी २०७७ अनुसार १०० वटा सूचकहरुको आधारमा गरिएको मूल्यांकनमा दुधौली नगरपालिकाले ९१, कमलामाई नगरपालिकाले ८८.५ र मरिण गाउँपालिकाले ९०.५ अंक प्राप्त गरेका छन् ।
त्यस्तै फिक्कल गाउँपालिकाले ८९.५, हरिहरपुरगढी गाउँपालिकाले ९२ र तीनपाटन गाउँपालिकाले ८६.५ अंक प्राप्त गरेका छन् । स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिदैँ आएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्यव समिति मार्फत प्रत्येक आर्थिक वर्षको वित्तीय सुशासन जोखिम मूल्याङ्कन समेत गर्दै आएको छ ।
जिल्लामा प्रथम र प्रदेशमा तृतिय स्थान प्राप्त गर्ने वातावरण निर्माण गर्न अहोरात्र खटिने स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रसाशकिय अधिकृत तथा सम्पूर्ण कर्मचारीहरु यो सफलताको भागिदार छन् । यस कार्यमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरुलाई प्रसाशकिय अधिकृत दाताराम प्याकुरेलले धन्यवाद दिनुभएको छ । सवै एक भएर कर्म गर्दा सफलता पाउन सकिने बताउँदै अधिकृत प्याकुरेलले यो सफलताले कर्मचारीहरुमा थप उत्साहका साथ काम गर्न मनोवल बढेको बताउनुभयो । वहाँले सवै कर्मचारी साथीहरुलाई उच्च मनोबलका साथ आफ्नो दायित्व निर्वाह गर्न आग्रह समेत गर्नुभएको छ ।