कमलामाईको हाट बजारमा अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट सिन्धुली
सिन्धुली/चाडपर्वलाई लक्षित गरी सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित शनिबारे हाट बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएका करिब रु. २ हजार ५१० बराबरका खाद्य सामग्री नष्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली, पशु सेवा कार्यालय, सिन्धुली तथा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुलीका प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले हाट बजारमा सञ्चालित खाद्य व्यवसायको अनुगमन गरेको हो।
अनुगमनका क्रममा १९ वटा किराना पसल, ६ वटा मासु पसल, ३ वटा माछा पसल र ५ वटा ठेला खाजा व्यवसायको निरीक्षण गरिएको थियो। सो क्रममा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा व्यवसायीलाई जरिवाना गर्नुभन्दा सचेत गराउने र सुधारका लागि प्रेरित गर्ने कार्यलाई प्राथमिकता दिइएको थियो। टोलीले म्याद गुज्रिएका खाद्य सामग्री बिक्री नगर्न, मासु तथा माछाको स्वच्छता कायम गर्न, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न र बिक्रीस्थल सफा राख्न व्यवसायीलाई निर्देशन दिएको छ।
साथै, उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उपभोग्य मिति, लेबल र प्याकेटको अवस्था जाँच गर्न तथा शङ्कास्पद खाद्य सामग्री बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा बजारमा स्वच्छ र गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न चाडपर्वलक्षित बजार अनुगमनलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ।



