‘व्यवसायीहरुको समस्यालाई संस्थागत गर्ने योजना सहित मैदानमा आएको छु’

नेत्रजंग थापा ‘प्रयास’
उपमहासचिव पदका उमेद्वार
उद्योग वाणिज्य संघ सिन्धुली

–  सिन्धुली जिल्लालाई पर्यटन व्यवसाय मार्फत चिनाउन र समृद्ध बनाउन लामो समयदेखि लागिरहेका व्यवसायीको परिचित नाम हो नेत्रजंग थापा ‘प्रयास’ । होटल तथा पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका थापका अनुसार सिन्धुलीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना छन् । पर्यटकलाई सिन्धुलीमा आकर्षित गर्ने विभिन्न गतिविधिमा सक्रिय रहनुभएका थापाले विशेषगरि होटल व्यवसायलाई सफल रुपमा सन्चालन गर्नुभएको छ ।

व्यवसायिहरुको हक हितका सवालमा आवाज उठाउँदै आउनुभएका थापाले यही फागुन २७ गते हुने उद्योग वाणिज्य संघ सिन्धुलीको निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी दिनुभएको छ । व्यक्तिगतरुपमा आफूले गरिरहेको प्रयासलाई संस्थागत गर्ने उद्देश्यले संघको उपमहासचिवमा उम्मेदवारी दिएको वहाँको भनाई छ । कुनै दलीय समूहबाट नभई स्वतन्त्र उम्मेदवार बन्नुभएका थापासंग सिन्धुली उद्योग वाणिज्य संघको उपमहासचिव पदमा उम्मेदवारी दिनुको उद्देश्यमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंले सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा उपमहासचिव पदमा उमेद्वारी दिनुभएको छ, तपाईंको उमेद्वारी किन ?
– सिन्धुली जिल्लामा रहेर लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेको छु । व्यवसाय गरिरहँदा आफ्नै हिसाबले काम गर्दै आइरहेको पनि छु । यो बीचमा विभिन्न समस्या, बाधा अवरोधहरु आइलागे । त्यसलाई मैले आफैं समाधान गर्दै अगाडि बढिरहँदा म जस्तै व्यवसायीहरु विभिन्न समस्याबाट गुज्रिरहनुभएको छ । त्यस्तै व्यवसायी साथीहरुको समस्यामा संस्थागत उपस्थिति देखाउन र मर्कामा परेका व्यवसायीको साथमा भएको महसुस गराउन पनि यसपटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।

तपाईंले स्वतन्त्र उम्मदेवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी नै दिने भएपछि अध्यक्ष पदमै चाहिँ किन उमेद्वारी दिनुभएन ?
– हरेक ठाउँमा अनूभवी नेतृत्व भयोभने मात्र सफलता प्राप्त गर्न सहज हुन्छ । संस्थागत नेतृत्व गर्न अनुभव बटुल्न, उद्योग वाणिज्य संघको गतिविधिमा आफ्नो बलियो उपस्थिति जनाउन र संस्थागत नेतृत्व सिकाइका लागि पनि यसपटक मुख्य पदभन्दा पनि उपमहासचिवमा मैले उम्मेदवारी दिएको हुँ ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदमा उद्योग वाणिज्य संघमा बसेर नेतृत्व गरिसक्नुभएका व्यक्तित्वहरुको उम्मेदवारी परेको छ । भोलि निर्वाचन पश्चात जसले जितेर आएपनि उहाँहरुसँग अनुभव धेरै छ । यदि मैले जितँे भने उहाँहरुको अनूभव र मेरो नयाँ सोचाइले दोब्बर गतिमा नयाँ ऊर्जाका साथ उद्योग वाणिज्य संघ सिन्धुलीलाई अगाडि बढाउन सकिन्छ भन्ने विश्वास लिएको छु । आपसी बहस र सहकार्यको माध्यमबाट सँस्थामा काम हुनुपर्छ भन्ने मेरो धारणा हो ।

उपमहासचिव पदमा तीन जना उम्मेदवार हुनुहुन्छ, तपाईंले जित्ने आधार के–के छन् ?
– यो एक प्रतिस्पर्धा हो र एकप्रकारको परीक्षा पनि । आफू जित्नका लागि सवैले प्रयास गर्छन् । मेरो पनि जितकै लागि प्रयास रहनेछ । व्यवसायिक क्षेत्रमा मेरो अनूभव र योगदानबारे व्यवसायी साथीहरु जानकार नै हुनुहुन्छ । मैले इमानदारीताका साथ यो क्षेत्रमा काम गरिरहेकोले मलाई विश्वास गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । यद्यपि, चुनावमा जित हार जे भए पनि व्यवसायीहरुको हक हितका लागि आवाज भने सधैं उठाउने छु । प्रतिष्पर्धामा विजय र पराजय स्वाभाविक हुन्छ ।

मतदाताहरुसम्म तपाईंले के–के योजना लिएर जानुभएको छ ?
– सिन्धुली जिल्लामा नयाँ उद्योगहरु स्थापना र त्यसको निरन्तरता अहिलेको प्रमुख विषय हो । उद्योगीहरुलाई आफ्नो पेशा व्यवसायमा टिकाइ राख्नका लागि नयाँ योजना, सीप विकास तालिमहरु सञ्चालन गर्ने योजनाहरु छन् । मैले जितेको खण्डमा म त्यसलाई अगाडि बढाउने छु ।

व्यापार व्यवसाय गरिहनुभएका साथीहरु अहिले सबैतिर आर्थिक मन्दीको समयमा नयाँ ढंगबाट व्यापार व्यवसायलाई कसरी लैजान सकिन्छ भन्नेमा हुनुहुन्छ । यसको सहजताको लागि समन्वयकारी भूमिका निर्वाह गर्नु मेरो दायित्व हुनेछ । बैंकिङ ब्याजदर स्थिर गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन संस्थागतरुपमा म पहलकदमी गर्ने छु । जिल्लामा पर्यटन व्यवसायमा व्यवसायीहरुलाई जोड्दै पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने छु ।

बेलुकाको समयमा होटल व्यवसायहरु सञ्चालनका लागि प्रशासनले निश्चित समय तोकेकोमा त्यसलाई सुरक्षितरुपमा अझै ढिलो समयसम्म होटलहरु सञ्चालनका लागि सम्बन्धित निकाय प्रहरी प्रशासनसँग समन्वय गर्ने छु । उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लामा रोजगारी सिर्जनाका लागि साना तथा मझौला उद्योगहरुलाई प्रवद्र्धन गर्न पहल गर्ने छु । वाकिङ स्ट्रिट तथा फुड स्टल राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पहल गर्ने भन्ने योजना लिएर म मतदाताहरुसम्म पुगिरहेको छु ।

मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
– फागुन २७ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा हामीले मताधिकार प्रयोग गर्न पाउँदै छौं । तपाईं हाम्रो हक हितको संरक्षण गर्दै जिल्लामा व्यापार व्यवसाय प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघमार्फत पहल कदमी गर्ने वाचा गर्दछु । आफ्नो विवेक प्रयोग गरेर आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनुहुन सम्पूर्ण उद्योगी, व्यापारी व्यवसायी साथीहरुमा हार्दिक अुनरोध गर्दछु । एकपटक मलाई अवसर दिनुस्, म तपाइँहरुको मतको अवमूल्यन नगर्ने प्रण गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *