आत्मविश्वास आफैंमा रोग निराकरण औषधी हो : सांसद दाहाल
सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले आत्मविश्वास आफैंमा रोग निराकरण गर्ने दरिलो औषधी रहेको बताउनुभएको छ । हरिहरपुरगढी गाउँपालिका-२ रतनपुरमा सत्य वचन परम् ईश्वरीय मार्गदर्शन सामाजिक संस्थाको प्रथम फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त धारणा राख्नुभएको हो ।
उहाँले हरेक मानिस निरोगी हुन मनोविज्ञानसँग सम्बन्धित रहेको बताउनुभयो । ‘मानिसले दिमागमा म रोगी छु भन्ने सोच्नाले नै रोग लाग्ने गरेको छ । यदि दिमागले म स्वच्छ छु, मलाई केही भएको छैन भनेर काम अगाडि बढाए सबै काममा सफलता मिल्छ,’ उहाँले भन्नुभयो ।
उहाँले जसरी धर्मले सकेको सबैलाई सहयोग गर्ने नसके कसैलाई पनि असहयोग नगर्ने भनिएको छ यसको अनुशरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘समाजमा धेरै विकृति, विसङ्गति छन् । कुलतमा फसेका छन् । यस्ता विकृतिलाई हटाउन सामाजिक संस्थाले पहल गर्नुपर्छ,’ सांसद दाहालले भन्नुभयो ।
उहाँले सामान्य किसीमका मनोवैज्ञानिक रोगको यस विधिद्धारा पनि समाधान गर्न सकिने तर गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । ‘गाँस, बास र कपास सरकारले ग्यारेन्टी लिनुपर्ने संविधानमा उल्लेख छ । स्वास्थ्य उपचार नि:शुल्क हुनुपर्छ भनेर पनि बारम्बार आफूले संसदमा कुरा उठाइरहेका छौं,’ दाहालको भनाइ छ ।
सोही कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नेपालमा मानिसहरुले विभिन्न किसिमका धर्म मान्ने अधिकार रहकोले यस्ता कुराको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले धर्मको नाममा कसैको अधिकार हुने काम गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, सत्य वचन परम् ईश्वरीय मार्गदर्शन सामाजिक संस्थाका प्रमुख श्रीकृष्ण आले, वडाध्यक्षहरु, पार्टी प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।