सिन्धुलीमा वन्यजन्तुको त्रास : गोठदेखि खेतसम्म किसानको क्षति
सिन्धुली/सिन्धुलीका वन क्षेत्र आसपासका किसानका लागि वन्यजन्तुको त्रास पशुधनमा मात्रै सीमित छैन ।
फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकाका केही वडामा वन्यजन्तुले गोठका पशुचौपायादेखि खेतमा लगाएको अन्नबालीसम्म क्षति पु¥याउने गरेको छ ।
किसानका लागि पशुधन आम्दानीको महत्वपूर्ण आधार हो भने खेतमा लगाएको अन्नबाली वर्षभरको मेहनत र परिवारको खाद्य सुरक्षासँग जोडिएको हुन्छ । वन्यजन्तुले पशु र बालीमा क्षति पु¥याउँदा किसानले प्रत्यक्ष रुपमा आर्थिक नोक्सानी बेहोर्नुपर्छ ।
डिभिजन वन कार्यालय सिन्धुलीको पछिल्ला चार आर्थिक वर्षको विवरण अनुसार जिल्लामा वन्यजन्तुबाट हुने क्षतिको स्वरूप पनि बदलिँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा हात्तीबाट बढी क्षति भएको देखिए पनि त्यसपछिका आर्थिक वर्षहरुमा भने चितुवाबाट बढी क्षति भएको विवरणले देखाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै वन्यजन्तुबाट जिल्लामा २८ वटा पशुधनमा क्षति भएको छ । क्षति भएका पशुधनका लागि कार्यालयले ३ लाख ८५ हजार रुपैयाँ राहतका लागि सिफारिस गरेको छ ।
उपलब्ध विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा फिक्कल गाउँपालिकाका किसानहरुले वन्यजन्तुले पशु र बालीमा क्षति पु¥याउँदा २ लाख २९ हजार रुपैयाँ राहत बुझेका छन् ।
फिक्कलका केही वडामा पशुधनसँगै खेतमा लगाएको अन्नबालीमा समेत वन्यजन्तुले क्षति पु¥याउने गरेको छ । यसले किसानलाई गोठ र खेत दुवैतर्फको जोखिममा पारेको छ ।
कमलामाई नगरपालिकाका केही वडामा पनि वन्यजन्तुका कारण किसान प्रभावित भएका छन् । कार्यालयको उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा कमलामाईका किसानहरुले ३० हजार रुपैयाँ राहत प्राप्त गरेका छन् ।
पशुधन गुमाउनु वा खेतमा लगाएको बाली नष्ट हुनु किसानका लागि तत्कालको आर्थिक क्षतिसँगै आगामी दिनको आम्दानीमा समेत केहि असर पर्नु हो ।
वन्यजन्तुबाट क्षति भएपछि राहत उपलब्ध गराउनु आवश्यक भए पनि किसानको वास्तविक समस्या राहत पाए पछि मात्रै समाधान हुँदैन । वन्यजन्तु बस्ती र खेतमा प्रवेश गर्ने अवस्था नै कम गर्न सकिए किसानहरुले अहिले सम्म भोगेका ठूलो नोक्सानीहरु केहि मात्रमा कम गर्न सकिन्छ ।
यसलाई कम गर्न जोखिमयुक्त क्षेत्रको पहिचान, वन्यजन्तुको आवागमनबारे स्थानीयलाई पूर्वसूचना, पशुधन र खेतीको सुरक्षा तथा समुदायको सहभागितामा संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
वन्यजन्तु संरक्षण र किसानको सुरक्षा एकअर्काका विरोधी विषय होइनन् । वन्यजन्तु पनि जोगिनुपर्ने र वन क्षेत्र आसपासका किसानको खेत तथा गोठ पनि सुरक्षित हुनुपर्ने अवस्था छ ।


